सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा भन्दा कडा कारवाही गरियोस् : वरिष्ठ नेता नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत् नेता नेपालले उक्त घटनाको निन्दा गरेका हुन् ।

उनले लेखेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु।’

नेता पाण्डेमाथि शनिवार गृहनगर चितवनमा केही कार्यकर्ताहरूको भीडले नाराबाजी तथा विरोध गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?