गोल्मा भीमसेन मन्दिरको निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा निर्माण भइरहेको गोल्मा भीमसेन मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

विसं १८१६ देखि स्थानीयवासीद्वारा पूजा गरिँदै आएको मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको हो । यसअघि खुलारुपमा पूजा हुँदै आएकामा स्थानीयवासीको आग्रह र प्राचीनतालाई दृष्टिगत गरी पुरातत्व विभागले मन्दिर निर्माणको जिम्मा लिएको छ । विभागले २०७४-७५ र २०७५-७६ दुई आर्थिक वर्षमा ५६ लाख बजेट विनियोजन गरी निर्माण भइरहेको छ । तामाको छाना भएको शिखर शैलीको उक्त मन्दिरको रङरोगन, तारबार तथा पर्खाल लगाउन बाँकी भएको मन्दिर निर्माण समितिका अध्यक्ष गौरीशङ्कर नेपालले बताए ।

मन्दिर परिसरमा बासुकी नाग र सेतीदेवीको समेत नित्य पुजा हुदै आइरहेको र निकट भविष्यमा दुबैको मन्दिर निर्माण गरिने कार्यक्रम रहेको बताइएको छ । नेपाल र तिब्बत बीचमा युद्ध शुरु हुने अन्तिम चरणमा पुगेपछि जनरल धीरशम्शेर राणाको नेतृत्वमा गएको सेनाले तातोपानीको दुगुनामा एक वर्ष लगाएर विसं १९१२ मा गढी (किल्ला) निर्माण गरेको इतिहासमा उल्लेख छ ।

तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणा गढी जाने क्रममा सोही मंन्दिरको चौरमा बास बसी युद्धमा विजय पाउन सफलताको कामना गरेका थिए । दुबै देश बीच वार्ता भई युद्ध टरेपछि फर्कने समयमा पनि सोही ठाउँमा बास बसी जग्गाको वन्दोबस्त गरी दैनिक पूजा गर्न स्थानीयलाई आदेश दिएको वृद्धाहरु बताउँछन् ।

उनैको पालामा वि सं १९१६ मा गुठीको रुपमा ३० रोपनी १३ आना जग्गा प्रदान गरेको कागज उपलब्ध भई गुठी संस्थानमा समेत दर्ता भएको अध्यक्ष नेपालले बताए। हाल दैनिक पूजा चलाउन मोहीबाट वार्षिक २४ मुरी धान उपलब्ध हुने गरेको छ । यसका अलावा स्थानीय ३३ घर परिवारले आलोपालो गरी दैनिक पूजा गर्दै आएका छन् ।

नित्य पूजामा सहयोग पुगोस भन्ने उद्देश्यले स्थानीय ७३ जनाको समूह गठन गरी प्रत्येकबाट रकम सङ्कलन गरी तीन लाख ५० हजारको अक्षय कोष खडा गरिएको अध्यक्ष नेपालले स्पष्ट पारे ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?