कांग्रेस सभापति देउवाद्वारा छठ पर्वको शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गरेका छन् ।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।” उनले भने ।

त्यस्तै नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएको बताउँदै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा भएको बताए ।

यी र यस्ता चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन देखिएको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै भौतिक दूरी कायम गर्न समेत सभापति देउवाले आग्रह गरेका छन् ।

मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेको छ । यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ । तसर्थ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु । ” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?