नेकपामा १० दिन ‘युद्धविराम’

झन्डै विभाजनको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद तत्कालका लागि टरेको छ । पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावका विरुद्ध प्रस्ताव ल्याउन जानकारी गराएपछि विवाद समाधानतर्फ अगाडि बढेको हो ।

यसअघि प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्ताव र राजनीतिक प्रतिवेदनको बारेमा छलफल नै नहुने अडान लिएका अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएर आफ्ना तर्फबाट पनि प्रस्ताव पेस गर्न थप दश दिनको समय माग गरेका थिए । सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले पेस गरेको प्रस्तावमाथि छलफल हुने भएको छ ।

प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्तावले पार्टी नै विभाजित हुने आकलनसमेत गरिएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारी, चिनियाँ राजदूत होउ यान्छीको सक्रियताका कारण नेकपाभित्र देखापरेको विवाद टरेको बताइएको छ ।

मंगलबार दिनभर शीर्ष नेताहरुको दौडधूपमा राष्ट्रपति भण्डारी र राजदूत यान्छीले दौडधूप थप गरेका थिए । मंगलबार मात्र प्रधानमन्त्री ओली र प्रचण्डले राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?