सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै बस्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद यतिबेला चरमउत्कर्षमा पुगेको छ ।

अध्यक्षद्वयबीचको आन्तरिक विवादका कारण नेताहरुबीच आरोप प्रत्यारोपको श्रृङ्खला बढेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको लागि डाकिएको सचिवालय बैठक सार्न आग्रह गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरुले बैठक जसरी पनि बस्ने अडान लिएका छन् ।

बुधवार प्रधानमन्त्री ओली दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका कारण सचिवालय बैठक बस्ने नबस्ने अन्यौलमा परेको छ ।

यद्यपी सचिवालय सदस्य समेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सचिवालय बैठक निधार्रित समयमा नै बस्ने बताएका छन् ।

बुधवार बिहान ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, “हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।”

त्यस्तै सोमवार र बिहीवार नियमित बैठक बस्दै आएतापनि आजको लागि मन्त्रिपरिषद् डाकिनुले सचिवालय बैठक नबस्ने रणनीति अनुरुप बैठक बोलाइएको कतिपय नेताहरुको टिप्पणी रहेको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्री समेत रहेका नेकपा स्थायी कमिटि सदस्य योगेश भट्टराईले पार्टी भित्रको आन्तरिक विवादका कारण एकता सर्वाधिक सर्वाधिक कठिन समयमा पुगेको प्रतिक्रिया दिएका छन् । आज ट्वीट गर्दै उनले भने, “सार्बधिक कठिन समय !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?