नेपाली कांग्रेसले हुम्लामा चिनियाँ पक्षबाट नेपाली भूमि अतिक्रमण भएको ठहर गरेको छ भने चिनियाँ पत्रिकाले भारतपरस्तको आरोप लगाएको प्रति पनि गम्भीर असहमति जनाएको छ ।
कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा यसबारे कांग्रेसले बुँदा नम्बर ४, ५ र ६ चिनियाँ पक्षबाट नेपाल भूमि, अतिक्रमण भएको तथा नेपाल सरकार समेत मौन बनिदिँदा जनतामा अन्यौलता छाएको बताएको बताएको छ । काँग्रेसले सरकारको यस्तो गैर जिम्मेवार प्रवृत्तिको निन्दा समेत गरेको छ ।
‘अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्को तर्फ चिनियाँ सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यस्तो गैर जिम्मेवार प्रवृत्तिको निन्दा गर्दछ’, कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । उक्त लेखमा नेपाली काँग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाइएको थियो । साथै, शाहीले सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गरेको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा पनि दिएको थियो ।
‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली काँग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली काँग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ’, विज्ञप्तिमा भनिएको छ ।
यसैबीच नेपालस्थित चिनियाँ दुतावासले नोभेम्बर १३ मा काँग्रेसलाई लेखेको पत्रमा नेता जीवनबहादुर शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारहीन र झुठो दावी गरेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
‘जहाँसम्म जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ती निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ । यस सम्बन्धमा शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘यदि चिनियाँ सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निक्र्योल दुई सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण छैन । यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गर्नेछ ।’
सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गरेका थिए त्यसकै आधारलाई टेकेर काँग्रेसले दुई देश बीच एक अर्का बीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको स्पष्ट पारेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता जीवनबहादुर शाहीसहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले कुनै छानविन गर्न पहल नगरेको पनि काँग्रेसले आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया