सहुलियतपूर्ण कर्जाका लागि बैंक र भीमदत्त नगरपालिकाबीच सम्झौता

काठमाडौं । उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग बिहीबार सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको हो ।

नगरपालिका नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । नगरपालिकाको सातौं नगरसभाबाट १०० जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिए बमोजिम उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरी कार्यक्रम अघि बढाएको हो ।

कार्यक्रममा कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो देशमा रोजगरी गुमाएका र रोजगारी पाउन नसकेका बासिन्दालाई प्राथमिकता दिइएको छ । उद्यम, व्यवसाय गर्न चाहने बासिन्दाले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण उपलब्ध पाउन सक्ने भएका छन् । बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिरी दिने सम्झौता उल्लेख गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो मुलुकबाट घर फर्र्र्किएर रोजगार गुमाएका र रोजागरी पाउन नसकेका बासिन्दालाई उत्पादनसित जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । “कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो देशबाट घर फर्किएर धेरै जनाको रोजागरी गुमेको छ, कति जनाले देशमै रोजागर नपाएको अवस्था छ”, नगर प्रमुख बिष्टले भने, “उत्पादनसित नजोडेर आर्थिक क्रान्ति आउँदैन, त्यसैले उद्यमशिलता विकास गरी स्वरोजगार बनाउन कार्यक्रम ल्याएका छौँ ।”

नगरपालिकाले भारतसहित तेस्रो मुलुकबाट फर्केका बासिन्दालाई सहयोग गर्न यस अघि नै क्वारेन्टिनबाट काम गर्न चाहने व्यवसायका लागि लगत सङ्कलन गरी सकेको छ । नगर क्षेत्रका ११ हजारभन्दा बढीको फाराम सङ्कलन गरीएको छ । नगर प्रमुख विष्टले कृषि र पशुपालनलाई व्यावसायिकरण नगरी आर्थिक समृद्धि असम्भव हुने उल्लेख गर्दै आर्थिक क्रान्तिका लागि उत्पादनमा जोड दिइएको बताए ।

भीमदत्त नगरपालिका र बैंकबीच कृषि, गैर कृषि, पशु पालन र जडीबुटीलगायत व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । व्यवसायीले बिना धितो बैंकबाट ऋण लिएपछि ब्याज तिर्नु पर्ने छैन । भीमदत्त नगरपालिकाले ऋणीको ब्याज तिरी दिनेछ । भीमदत्त नगरपालिकाले उद्यम व्यवसाय गर्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराउन अघि बैंकमा कोष स्थापना गर्ने सम्झौता गरिएको छ ।

नगरपालिकाले कोषमा जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिन लागेको हो । त्यसका लागि यस वर्ष नगरपालिकाले बैंकको कोषमा एक करोड रकम जम्मा गर्न लागेको छ । नगरपालिकाले मेयर उद्यमशिलता कार्यक्रमका लागि निर्देशिका र सहुलितयपूर्ण कर्जामा ब्याज अनुदान कार्यविधि बनाई सकेको जनाएको छ । सम्झौतामा हस्ताक्षर कार्यक्रममा नेपाल बैंक लिमिटेडका महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले तिहारपछि सम्झौता अनुसार कर्जा उपलब्ध गराउन शुरु गरिने बताए ।

“छोरा छोरी पढाउन सकियोस्, जीविकोपार्जन गर्न सकिने भन्ने दीर्घकालिन रुपमा व्यवसाय गर्न सकियोस् भन्ने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिएको छ”, प्रबन्धक चन्दले भने, “सम्झौता भएको छ, अब तिहारपछि शुरु गर्छौँ ।” बैंकका प्रबन्धक चन्दले कार्यक्रम सञ्चालनका लागि बैंकमा छुट्टै इकाई खडा गरी कार्यक्रम अघि बढाइने बताए । “यसमा अरु कर्जा जस्तो हुँदैन, कर्मचारीको छुट्टै युनिट खडा गरी ‘सेभेन वर्कस डे’ भित्र सक्ने गरी काम गर्छौ”, प्रबन्धक चन्दले भने ।

बैंकका प्रबन्धक चन्दले सहुलियत पूर्ण कर्जामा पनि पुरुषलाई ३.८ र महिलालाई २.८ प्रतिशत ब्याजमा ऋण दिइने बताए । “बैंकले त्यो ब्याज नगरपालिकाको कोषबाट कट्टा गर्छ, त्यस बाहेकको अरु ब्याज सरकारले व्यहोर्छ”, उनले भने । सरकारको नीतिअनुसार नेपाल बैंक लिमिटेडले ६.८ प्रतिशत ब्याजमा सहुलितयपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । बैंक प्रबन्धक चन्दले उद्यमी व्यवसायी छनोटदेखि सिफारीससम्म नगरपालिका र बैंक सहकार्य हुने बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?