चितवन । जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । विसं २०७६ मा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीवार सम्मानित गरिएको हो ।
चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्ने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश लाठलाई सम्मानित गरेको छ ।
पराजुलीलाई उनको ‘कुमाता’ कथा सङ्ग्रहका लागि र लाठलाई ‘अघटित’ उपन्यासका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि १५ हजार रहेको छ ।
यस्तै चिसाप प्रतिभा पुरस्कार, २०७७ बाट अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट ‘केन्द्र र परिधि’ निबन्धका लागि निबन्धकार रामबाबु घिमिरेलाई र चिसाप लीलानर्मदा पुरस्कार ‘महोपथ’ कथा सङ्ग्रहका लागि कथाकार ललित विष्टलाई प्रदान गरिएको छ ।
हाल जापानमा रहेका कारण पुरस्कृत व्यक्तित्व पौडेलका बुबा चूडामणि पौडेलले उनको पुरस्कार ग्रहण गर्नुभयो भने अन्य स्रष्टाहरू स्वयं कार्यक्रममा उपस्थित भएर पुरस्कार ग्रहण गरेका थिए। कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र्र अस्तफल, पूर्वअध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, पुरस्कारका संस्थापक मायादेवी कँडेलले पुरस्कृत व्यक्तित्वलाई सम्मान गरेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया