रायखोरबाट उत्पादित विद्युतले म्याग्दीका तीन गाउँमा उज्यालो

म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो । सडक र यसअघि विद्युत सुविधा नभएको यी बस्ती भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्छन् ।

रायखोरका बासिन्दासमेत रहेका वडा सदस्य लीलबहादुर पुनले विद्युत सुविधा भएपछि उज्यालोका लागि टुकी र सोलार बाल्नुपर्ने बाध्यता हटेकामा स्थानीयमा खुशीयाली छाएको जानकारी दिए । उज्यालोका साथै उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । विद्युत् सुविधा भएपछि ग्रामीण जीवनशैली सुधारमा सहयोग पुगेको छ । गाउँलेको दैनिकी सहज भएको छ । छरिएको र सडक सुविधा नभएको तीन बस्तीका बासिन्दा बिजुली बलेर गाउँ झिलीमिली भएपछि खुशी भएका छन् ।

यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि मट्टीतेलको टुकी र सोलारमा निर्भर थिए । लघुजलविद्युत सुविधा थिएन । बिजुली बाल्न स्थानीयवासीले काँधमा बोकेर पोल ढुवानी गरेका थिए । गाउँपालिकाले कात्तिक पहिलो हप्ता बेनीबाट ७५५ किलोग्राम तौल भएका दुईवटा १०० केभिए क्षमताको ट्रान्सफर्मर हेलिकोप्टरबाट रायखोर र मुलपानीमा ढुवानी गरेको थियो ।

सिम्रिक एयरको हेलिकोप्टरमा झुण्ड्याएर दुईवटा ट्रान्सफर्मर ढुवानी गर्दा रु दुई लाख ६१ हजार ७०० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। नेपाल विद्युत् प्राधिकरणले पाखापानीको कोटगाउँबाट रायखोर उल्लेरी हुँदै मुलपानीसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाडेर तार तानेको थियो ।

यसअघि कात्तिक दोस्रो हप्ता रघुगङ्गा–६ मै पर्ने घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङका ५० घरमा विद्युतीकरण गरेर बिजुली बालिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उनका अनुसार सोही वडाको ठाडाखानीमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?