नेकपाका असन्तुष्ट उद्योगी व्यवसायीलाई पूर्ववत् जिम्मेवारीमा फर्कन निर्देशन

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीका विषयमा असन्तुष्ट रहेका पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ । नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्कन निर्देशन दिएको विभागका प्रमुख गोपाल रानाले बताए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलगायत पार्टी नेताहरु समेत सहभागी भेलामा असन्तुष्ट व्यवसायीले पार्टीलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । ती मागका बारेमा पार्टी नेतृत्व सकारात्मक भएको प्रमुख रानाले बताए ।

बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २२ सय ४९ जना उद्योगी व्यवसायीले पत्रकार सम्मेलन गरी सामूहिक असन्तुष्टि जनाएका थिए । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले माग सम्बोधन हुने सहमतिपछि जिम्मेवारीमा पूर्ववत रहेको बताए ।
नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाब पुगोस् भनेर असन्तुष्टि जाहेर गरेकामा अन्य मागमा पार्टी सकारात्मक रहेकाले सहमति भएको बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरिसकेकाले यसका लागि विकास प्रवद्र्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकिय सेवा उपलव्ध गराउने गरी कानून निर्माण गरिने प्रतिबद्धता जनाएको थियो । मन्त्री गिरीले रुपन्देहीको विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

नेकपा रुपन्देहीका प्रचर विभाग प्रमुख मोहन चापागाईंले तत्कालीन अवस्थामा असन्तुष्टि हुनु स्वाभाविक भएपनि पार्टीको जिम्मेवारीमा फर्कनुको विकल्प नभएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?