सिँचाइ डिभिजन कार्यालयको भवन निर्माण शुरु

परासी । लुम्बिनी प्रदेशअन्तर्गतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को आफ्नै कार्यालय भवन निर्माण शुरु भएको छ । प्रदेश सरकारको २ करोड ६३ लाखको लागतमा सुनवल नगरपालिका–१२ फरौलीमा भवन निर्माण गर्न लागिएको हो ।

भवनको आज लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शिलान्यास गरे। मन्त्री चौधरीले समृद्ध प्रदेश निर्माणका लागि कृषि क्षेत्रको विकास अत्यावश्यक भएकाले प्रदेश सरकारले सिँचाईलाई समेत उच्च प्राथमिकता दिएको बताए ।

प्रदेश सरकार स्थापना हुँदा प्रदेशभर ५० प्रतिशत सिँचाई सुविधा पुगेकोमा पाँच वर्ष भित्रमा ७० प्रतिशत सुविधा पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनले जानकारी दिए । पश्चिम नवलपरासीमा पनि सिँचाई आयोजना, भूमिगत जलस्रोत परियोजना, डिप ट्युबेल, नदी नियन्त्रण गरी २५ करोडका सिँचाइ योजनाहरुमा प्रदेश सरकारले लगानी गरेको मन्त्री चौधरीले जानकारी दिए ।

शहरी विकास तथा भवन कार्यालय रुपन्देहीको डिजाईन तथा सुपरिवेक्षणमा निर्माण गर्न लागिएको उक्त अपाङ्गमैत्री भवन दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । बाबुल निर्माण सेवा रुपन्देहीले निर्माणको जिम्मा पाएको उक्त कार्यालय भवन आवास र प्रशासनिक गरी तीन तले रहेको शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोविन्द गौतमले जानकारी दिए ।

देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले कोभिड–१९ को जोखि भएकाले यस वर्षको तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोराना भाइरस संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, भीड जम्मा गरी नाचगान गर्ने, मेला महोत्सवलगायत नगर्न प्रशासन कार्यालयले आग्रह गरेको हो ।

आफू र आफ्नो परिवारसँगै तिहार मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भीड गर्ने काम नगर्न प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आग्रह गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?