सर्वोच्चको फैसलापछि वामदेवले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट सफाई पाएपछि धन्यवाद ज्ञापन गरेका छन् ।

बुधवार संवैधानिक इजलाशले गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त भएकोमा बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नहुने फैसला गरेको थियो ।
उक्त फैसला पछि उपाध्यक्ष गौतमले भनेका छन्, ‘सबैप्रति आभार
राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।
यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।
वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।
वामदेव गौतम/उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?