मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा २ युवाको मृत्यु

दमक, १२ असोज – मोटरसाइकल र स्कुटर एक आपसमा जुध्दा झापाको कमल गाउँपालिकामा आज साँझ दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको पाडाजुंगी सडकखण्डमा साँझ ६ बजेतिर मे. ४ प. ३५२४ नम्बरको स्कुटर र को.१५ प. ८४३३ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल र स्कुटरका दुवै चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दमक–९ का २५ वर्षीय राजन खड्का र स्कुटर चालक दमक–५ का २८ वर्षीय सुनिल सुवेदी छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दमक ल्याउने क्रममा बाटोमानै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार दमक–६ का २७ वर्षीय सुवास निरौलाको अवस्था गम्भीर रहेको र उनको थप उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?