तत्काललाई मिल्यो काँग्रेस विवाद

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय विभागको विषयबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका १६ बुँदे मागलाई सम्बोधन गर्न तत्परता देखाएपछि आन्तरिक किचलो हाललाई मत्थर भएको छ ।

वरिष्ठ नेता पौडेलले आफूहरूले हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा असोज ११ गते दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रका अधिकांश विषयमा आइतबार सैद्धान्तिक समझदारी जुटेको बताए । ‘केन्द्रीय विभाग खारेज गर्न सभापतिजीलाई अप्ठ्यारो परेको होला । उहाँ मौन हुनुहुन्छ । विभाग गठन विधान र आचारसंहिताविपरीत भएकाले मान्दैनौं भनेर प्रस्ट भनिदिएका छौं,’ उनले भने ।

वरिष्ठ नेता पौडेलले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेकालाई पनि विधानको प्रचलित प्रक्रियाअन्तर्गत रहेर नै क्रियाशील सदस्यता दिइने समझदारी भएको जानकारी दिए ।

पार्टीभित्र किचलोको मुख्य जड नै क्रियाशील सदस्यता वितरणबारे थियो । अन्य राजनीति दलबाट कांग्रेस प्रवेश गरेका समूहको समायोजनका नाममा नेतृत्वले विधान र प्रक्रियाविपरीत आफूअनुकूलको निर्णय गराउँदै सदस्यता वितरण थालेको भन्दै पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले असोज ११ गते ज्ञापनपत्र दर्ता गराएका थिए ।

उक्त ज्ञापनपत्रमा उठाइएका विषय सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमै नजाने चेतावनी पौडेल पक्षले दिएको थियो । दसैंअघि र पछि चलेको अनौपचारिक बैठकमा लामो छलफल भएपछि आइतबार समझदारी बनेको खबर कान्तिपुरमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?