नेप्सेमा उछाल : परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि

काठमाडौं । आईतवार समग्र शेयरबजारसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । आईतवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने साढे ३ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

आईतवार शेयरबजार परिसूचक नेप्से १२.४९ अंकले उकालो लाग्दै १६४८.५८ अंकको विन्दुमा बजार बन्द भएको छ । बढेको बजारमा अधिकांश समूहको परिसूचक बढ्दा दुई समूहको परिसूचक घटेको छ ।

बैकिङ र विकास बैंक समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक सामान्य ०.०९ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको परिसूचक ०.३२ प्रतिशतले घटेको छ ।

बढेको बजारमा व्यापार समूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.०४ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत र अन्य समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ । होट्लस र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ भने बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भन्दा कमले बढेको छ ।

आईतवार बढेको बजारमा नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको सर्वाधिक २५ करोड ९२ लाख २ हजार ४ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलयरीको १५ करोड ९६ लाख ८१ हजार ६ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवार ६ वटा कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको हो । कारोबार संख्याका आधारमा पनि आईतवार नेपाल पुर्नबिमा कम्पनी लिमिटेड अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको २ हजार ६ सय ८६ पटक कारोबार भएको छ ।

शेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ६ लाख १६ हजार ३ सय १९ कित्ता शेयर कारोबार भएको छ । नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडको ५ लाख ४७ हजार ८१ कित्ता शेयरको खरिदबिक्रि भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन डिस्टिलयरी, साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक बढेको छ । आईतवार नेपाल फाइनेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३.५७ प्रतिशतले गुमाएका छन् । त्यस्तै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकका लगानीकर्ताले २.७६ प्रतिशतले गुमाएका छन् ।

आईतवार १ सय ९८ कम्पनीको ४१ हजार ७ सय ६७ पटकको कारोबारमा १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयरको खदिबिक्रि हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६० रुपैयाँ ५८ पैसा बराबरको कारोबार भएको छ ।

आईतवार बढेको बजारमा ११४ कम्पनीको शेयर बढेको छ भने ४५ कम्पनीको शेयर घटेको छ बाँकि १३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?