गण्डकीमा ट्राफिक प्रहरीले शुरु गर्‍यो ‘चालकसँग १ मिनेट कार्यक्रम’

काठमाडौं । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरि आज (आइतवार) ११ बजेबाट दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुकुलो भएसँगै हुनसक्ने सवारी दुर्घटनाको संभावनालाई मध्यनजर राख्दै ट्राफिक प्रहरीले त्यस्तो कार्यक्रमको शुरुवात गरेको हो ।

यस कार्यक्रम अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छ अनि सवारी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ । त्यसपछी कोरोना भाईरसबाट बच्न को लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ भन्ने जस्ता सन्देश दिइने प्रदेशका निमित्त प्रवक्ता प्रहरी निरीक्षक (एसपी) मनोज कुमार शाहीले जानकारी दिए ।

त्यस्तै उनका अनुसार मादक पदार्थ तथा नसाजन्य चिज वस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन्छन र तपाईको यात्रा सुरक्षित रहोस वा नमस्कार भनि १ मिनेट भित्र बिदा गर्छन ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टहरुले एकै पटक यो कार्यक्रम शुरु गरिएको छ भने यसलाई पहिलो चरणमा १ महिना सम्म संचालन गरिने छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्युनिकरण होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको एसपी शाहीले जानकारी दिए।

साथै तीव्र नियन्त्रण गर्नको लागि राजमार्ग तथा खुल्ला सडक खण्डमा लिजर गनको प्रयोगबाट सवारीको गति मापन गर्ने र गति कम गर्ने सवारी चलाकलाई सचेत गराउने र कारबाही गर्ने काम समत शुरु गरिएको प्रवक्ता शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?