नेकपा पार्टी विवाद : ईश्वर पोखरेलको उपस्थितीमा पूर्व एमालेको भेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चुलिरहँदा गुटगत भेलाले प्राथमिकता पाउन थालेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला जिल्ला अध्यक्ष कृष्ण राईको संयोजनामा पूर्व एमालेहरुको भेला काठमाडौंमा भएको छ ।

जसमा पूर्व रक्षामन्त्री एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल समेतको उपस्थिती रहेको थियो । पार्टीभित्रको आन्तरिक कुरा बुझ्नका लागि छलफल राखिएको र उपप्रधानमन्त्रीले उक्त कार्यक्रमलाई सम्बोधन गरेको नेकपा निकट स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार भेलाले पार्टी विभाजनको कामलाई कमजोर बनाइ पार्टी एकताका लागि बल पुर्याउनका लागि उक्त भेलाले सहयोग पुर्याउने बुझिएको छ ।

शनिवार दिउँसो बोलाइएको उक्त भेलामा पूर्व माओवादी खेमाका नेताहरुलाई भने बोलाइएको थिएन् । पार्टी विवादमा मुख्यतः पूर्व एमाले र पूर्व माओवादी खेमा बढि हावी भएकाले विवाद समाधानको लागि पहलकदमीका रुपमा भेला बोलाईएको स्रोतको दावी छ ।

पूर्व एमालेहरुको भेला भनिएतापनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने उपस्थित रहेका थिएनन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावका कारण पार्टी विवाद चरम बिन्दुमा पुगेको छ । शनिवार ओली प्रचण्डबीच भेटघाट भएपनि कुनै निष्कर्ष भने निस्किन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?