प्रधानमन्त्री ओलीले भने- ‘मुलुकमा राजनीतिक संकट देखियो, सचेत बनौँ’ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक संकट देखिएको संकेत गर्दै मन्त्रिहरुलाई अवस्थाको सामना गर्न सचेत रहन आग्रह गरेका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारले जटिलता बेहोरिरहेको बताउँदै अझै ठुलो संकट आउन सक्ने बताएका हुन् ।

मन्त्रिहरुलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले मुलक र पार्टी दुवैमा राजनीतिक संकट देखा परेकाले यो अझै बढ्न सक्ने भन्दै सबै किसिमको संकट व्यहोर्न सबै तयार रहन निर्देशन दिएको स्रोतले जनाएको छ ।

बैठकमा ओलीले पार्टीभित्रबाट आफूलाई सहयोग नभएको चौतर्फी घेराबन्दीमा सरकार परेको बताए । बारम्बार पार्टीभित्रैबाट राजिनामा मागेको तर आफू राजिनामा नदिने पक्षमा रहेको समेत उनले दोहोर्याएका छन् ।

पार्टीभित्रैबाट असहयोग भएकाले सोचेजति सरकारले काम गर्न नसकेको प्रधानमन्त्री ओलीको दावी रहेको छ । साथै असहयोग गर्नेहरुबाट अस्थिरता निम्त्याउने खेल भएकाले नै मुलुक गम्भीर मोडमा पुगेको भन्दै मन्त्रीहरुलाई सचेत समेत गराएका छन् ।

पछिल्लो समय नेकपा भित्रको आन्तरिक किचलोका कारण पार्टी फुटको अवस्थामा पुगेको छ । सरकारले गरेका नियुक्तीमा पार्टीसँग छलफल नभएको, कर्णाली प्रदेश मुख्यमन्त्री विवाद, रअका प्रमुखसँगको भेटघाट लगायतका विषयका कारण विवाद थप बढेको हो । यद्यपी तीनै विषयहरुमा छलफल गरी समाधान खोज्न भन्दै अहिले नेकपा अध्यक्षद्वयबीच भेटघाट जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?