खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ ।

कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पुरा नगरी खुलामञ्चमा निः शुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने र सर्वाजनिक स्थलमा अस्वस्थ असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरे । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकार जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमको समेत ख्याल गरी खाना खुवाउन आग्रह गरे । श्रम गर्न सक्नेहरुले श्रम गरेर र नसक्नेहरुको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने उनले बताए ।

महानगरपालिकाले सुरु देखि नै काम गर्न सक्नेहरुलाई काम दिएको उल्लेख गर्दै नसक्नेहरुको हकमा व्यवस्थापनका लागि महानगरपालिकाले सहयोग गर्ने बताए । सक्नेहरुले समेत काम नगरी खाने प्रवृति रहेमा भोली पनि समस्या हुने उनले बताए । उनले भने, ‘‘काम नगरी खाने प्रवृति भयो भने भोली श्रम गरेर खान भन्दा पनि उनीहरुले गर्दैनन् । बानी विग्रिन्छ । त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो । नसक्नेलाई व्यवस्थापन गर्छौँ ।’’

एकै ठाउँमा भिडभाड गरेर खाना खुवाउनुभन्दा जो जुन ठाउँमा छ त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उनले बताए । महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिन सक्ने उहाँले बताए ।

लकडाउन अविधिभर महानगरपालिकाले ३२ वटै वडाहरु मार्फत भोकै कोही पर्दैन भोकले कोही मर्दैन भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ । लक डाउन अवधिमा १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको उनले बताए ।

श्रम गर्न सक्नेहरुलाई वडा कार्यालयहरुबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकाल तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण जस्ता काममा लगाउने गरेको महानगरले जनाएको छ । एक हप्तामा कम्तिमा २ दिन तोकिएको पारिश्रमिक दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारी पनि सिर्जना गर्ने काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?