महानगरले भन्यो- ‘काठमाडौंलाई मागिखानेको शहर बनाउने प्रयास कसैबाट नहोस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा भिडभाड हुने स्थलहरुमा निशुल्क खाना खुवाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

खुलामञ्च लगायतका क्षेत्रमा गरिव तथा असहायहरुलाई खाना खुवाउने कार्य बन्द गर्न महानगरको निर्देशनपछि व्यापक विरोध आएसँगै महानगरले एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।

साथै कोरोना महामारीको समयमा समस्यामा परेका असहाय, अशक्त, अतिविपन्न तथा दैनिक ज्यालादारी गर्ने नागरिकलाई शुरु देखि नै सहयोग गर्दै आइरहेको जनाएको छ ।

कोरोना महामारी पछि विभिन्न परोपकारी संस्थाहरुले असहाय, रोजगारी गुमाएका मजदूत तथा गरिवहरु खुलामञ्च लगायतका ठाँउहरुमा खाना खुवाइरहेका छन् ।

सार्वजनिक स्थल र सडकमा स्वास्थ्य मापदण्डको ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाइले जोखिम बढ्ने समेत महागरले जनाएको छ । काठमाडौंलाई गरिखानेको शहर बनाउनुपर्नेमा गरिव तथा असहायलाई खाना खुवाएर उनीहरुको कथा व्यथा बेचेर मागिखानेको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस भन्दै महानगरले चेतावनी दिएको छ ।

“काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।” मेयर विद्यासुन्दर शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकहरुलाई खाना खुवाउन ताँती लगाएर उनीहरुको निर्दोष अनुहारलाई सामाजिक सञ्जालमा व्यापक बनाएको समेत महानगरले आरोप लगाएको छ । साथै त्यस्तो कार्यले सम्बन्धित नागरिकको आत्मसम्मानलाई आघात पुग्ने समेत बताएको छ ।

“कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पु¥याउने कुराप्रति हामी सबै सचेत हुनै पर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै लकडाउनको अवधिमा महानगरले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको जनाएको छ । सो अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको महानगरको दाबी रहेको छ ।

साथै कोरोनाका कारण बेरोजगार भएका महानगरभित्र बस्ने नेपाली नागरिकहरुलाई सामथ्र्य र सीपको आधारमा रोजगारी र पारिश्रमिक दिने कार्यको थालनी गरेको समेत महानगरले जनाएको छ । कोरोनाका कारण बेरोजगार भएका महानगरबासीका लागि सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास, स्वास्थ्य, सरसफाई तथा फोहोरमैला व्यस्थापन, महानगरपालिका तथा वडाले तोकेका अन्य विभिन्न काममा लगाई हप्तामा कम्तीमा दुई दिनका दरले तोकिएको दैनिक ज्यालादारीमा रोजगारी दिने गरेको समेत जनाइएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमको सहकार्यमा विगत तीन वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा अशक्त–असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आएको पनि जनाएको छ । काठमाडौं महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त शहर बनाउने घोषित नीति अनुसार नै उक्त कार्य अघि बढेको र अहिले पनि जारी रहेको मेयर शाक्यले बताएका छन् ।

त्यस्तै कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा उनीहरुलाई आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उनीहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको समेत जनाइएको छ ।

अहिले मुलुकमा लकडाउन छैन । यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने महानगरको जोड रहेको छ ।

हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्नेमा महानगर प्रतिवद्ध रहेको मेयर शाक्यले बताएका छन् । साथै श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि उनीहरुलाई अल्छि नबनाई काम गर्ने प्रेरणा जागृत गराउनुपर्ने समेत महानगरले जनाएको छ ।

साथै महामारीका बेला समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहेका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ महानगरसँग समन्वय गर्न विनयपूर्वक आग्रह गरेको महानगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?