उपचार नगर्ने अस्पतालको अनुगमन गरिँदै

झापा । झापाका निजी अस्पतालले कोभिड १९ को परीक्षण र उपचारका नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ ।

कोरोना सङ्क्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही रहेका छन्।

पीसीआर किटको अभाव

झापामा पिसीआर परीक्षणका लागि रिएजेन्ट किट अभाव भएको छ । व्यवस्थापन समितिको बैठकले स्थानीय पालिकासँग रिएजेन्ट किट किन्न सहयोगका लागि आह्वान गरेको छ ।

यसैबीच मेचीगनरवासीले धुलाबारीको मेची आम्दा अस्पताललाई सुविधासम्पन्न ‘कोभिड हस्पिटल’ बनाउन माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरका युवा नेता प्रकाश खड्काले मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसद्लाई ज्ञापन पत्र बुझाएर कोभिड अस्पताल निर्माणको माग गरिएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?