तनहुँ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति उद्यान (पार्क) मा प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेको शान्ति पार्कभित्र दुई करोड ५६ लाखको लागतमा प्यागोडा शैलीको आकर्षक मन्दिर निर्माण सम्पन्न भएको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले मन्दिरको सम्पूर्ण काम सकिएको र बाहिरी भागमा केही निर्माणका काम बाँकी रहेको जानकारी दिए ।
उनका अनुसार मन्दिरको बाहिर घण्टा झुण्ड्याउने पिलरमा ढुङ्गा बिछ्याउन, मन्दिरको साइडमा पर्खाल लगाउन मात्र बाँकी छ । गत फूलपातीकै दिन मन्दिरको उद्घाटन गर्ने गरी कामलाई अगाडि बढाइएको भएता पनि कोभिडका कारण उद्घाटन गर्न नसकिएको रानाले जानकारी दिए। तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि गत आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।
व्यास नगरपालिकाले विनियोजन गरेको १० लाख र उपभोक्ता समितिको समेत गरी १२ लाखको लागतमा पार्कभित्र सार्वजनिक शौचालय, वडा नं ४ मार्फत विनियोजन भएको १० लाखको लागतमा ८० मिटर बाटो ढलान र ४० मिटर नाला निर्माण सम्पन्न भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किमीको दूरीमा रहेको यस पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । “अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ, प्रदेश सरकारबाट बजेट विनियोजन भएको खण्डमा माथिसम्म नै बाटो पक्की बनाउने लक्ष्य छ”, रानाले भने । मन्दिरमा गत वर्षको फूलपातीको दिन चार लाख ४० हजारको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको थियो ।
पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजनाअनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्कलाई गुरुयोजनाअनुसार विकास गर्न पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ । करिब ३७ हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुईवटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।
विसं २०६३ भदौ १३ मा सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । आर्थिक वर्ष २०६६÷६७ मा स्थानीय विकास मन्त्रालयमार्फत व्यास नगरपालिकाको जगेडाकोष र स्थानीय उपभोक्ताबाट सहयोग गरी ३७ लाख ८३ हजार ५९२ को लागतमा वन क्षेत्रलाई पक्की पिलरसहित काँडे तारवार लगाउने काम भएको थियो । आर्थिक वर्ष २०६७÷६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त १७ लाख ६७ हजार ७५० को लागतमा मन्दिरसम्म पुग्ने बाटो र सिँढी निर्माण गरिएको थियो ।
आर्थिक वर्ष २०६८/६९ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १९ लाख आठ हजार ७०४ को लागतमा मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङवालको काम भएको थियो भने २०६९÷७० मा प्राप्त रु आठ लाख ७९ हजार ५६८ ले मन्दिरको पानी ट्याङ्कीसम्म पुग्ने पिपिआर पाइप खरिद र गाड्ने काम भएको थियो ।
त्यस्तै २०७१÷७२ मा प्राप्त १२ लाख छ हजार ३७५ को लागतमा मन्दिरको तीनवटा पेटी चारैतिर सिँढी निर्माणका साथै चारवटा मुख्य पिलरसहित जग बसाल्ने काम भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा प्राप्त ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत् व्यवस्थापन, मन्दिर ढलान, दुईवटा वनभोजस्थल निर्माणलगायतका काम सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ३३ लाख १२ हजार ५२२ को लागतमा मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्य सम्पन्न गरी बाटो मर्मत गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार इँटा, मूर्ति खरिदलगायतका काम भएको थियो ।
गुरुयोजनाअनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यूटावर, विश्रामस्थललगायतका पूर्वाधार निर्माण हुन बाँकी छ । तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ ।
तनहुँ हाइड्रोका मजदुर पुनः आन्दोलित
तनहुँ जलविद्युत आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षणपश्चात पोजिटिभ देखिएका मजदूरलाई काममा लगाएको भन्दै मजदूरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् ।
पोजिटिभ आएका मजदूरलाई आइसोलेसनमा नराखी काममा लगाएपछि विरोध गर्दै आफूहरु आन्दोलनमा उत्रनुपरेको मोती श्रेष्ठले जानकारी दिए। तनहुँभन्दा बाहिरी जिल्लाबाट मजदुर आउँदा सात दिन क्वारेन्टिनमा राखी पिसीआर परीक्षणपश्चात काममा लगाउर्ने पूर्व सहमति पनि उल्लङ्घन भएको श्रेष्ठले आरोप लगाए ।
दशैँ मान्न घर गएका मजदूर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदूर दशैँ बिदामा घर गएका बेला पनि चिनियाँ मजदूरले विद्युत्गृह निर्माणको काम सञ्चालनमा राखेका थिए । असोज अन्तिम साता सबै मजदूरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदूरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदूरको पिसीआर परीक्षण गरेपछि काम सञ्चालन भएको थियो ।
सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । प्रसारण लाइनका लागि चालू आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।
आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया