बाँदर धपाउने गजबकाे आइडिया, बाघको तस्वीर देखेपछि आउनै छाड्यो

हरिया रूखमा लटरम्म सुन्तला र रुद्राक्ष फलिरहेको छ । फराकिलो बगैंचालाई बेरबार गरिएको छ । बगैंचाको चारछेउ चारवटा ठूला प्लेकार्ड र फ्लेक्समा आक्रामक बाघको फोटो राखिएको छ ।
मेलम्ची नगरपालिका–५ सिन्धुकोट पुराना गाउँस्थित चिरञ्जीवी सिग्देलको बगैंचामा पुग्ने जोकोही जिज्ञासा राख्छन्– बगैंचामा बाघको तस्बिर किन ? ‘बाँदर धपाउन यसरी चारैतिर बाघको तस्बिर राखें, त्यसपछि बादर तर्सिएर आउन छाड्यो,’ सिग्देल सोध्नेलाई यही वाक्य दोहोर्‍याइरहन्छन् ।

बाली होस् या फलफूल, तरकारी या अन्नपात, कहिल्यै घरमा पूरा भित्रिन पाउँदैनथ्यो । दर्जनौंको संख्यामा बाँदरको हूल पसेर बाली मासिदिन्थे, खाइदिन्थे, नउम्रिँदै उखेलेर फालिदिन्थे । हुँदाहुँदा बाँदरले स्थानीयलाई समेत सास्ती दिन थालेपछि सिन्धुकोटपारि भोटेचौरका कृषकले गत वर्ष भएका सबै रूख मासिदिए ।
बाघ आएको बेला बाँदर आउँदैन भन्ने सुनेका सिग्देललाई बाँदरलाई लखेट्न ढुंगामुढा गर्नुभन्दा मनोवैज्ञानिक त्रास उत्पन्न गर्ने जुक्ति फुर्‍यो । ‘बाघको फोटो प्रिन्ट गरेर बगैंचा वरिपरि टाँसी दिएँ ।

बाँदरको हूल दुई पटकसम्म बगैंचा छेउसम्म आए पनि बाघको तस्बिरलाई परैबाट हेरेर फर्कियो । त्यसपछि बाँदर यहाँ आउँदै आएनन् । दौडादौड गर्नुपरेन,’ सिग्देलले भने । सात रोपनी क्षेत्रफलमा फलफूल लगाएका उनले बाँदरले बाघको तस्बिरलाई साँच्चिकै सम्झिएर नआएको हुन सक्ने अनुमान गरे  । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?