थप तीन हजार ५१७ मा कोरोना संक्रमण पुष्टि, २ हजार ६६६ जना क्वारेन्टाइनमा

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ५१७ जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १४ हजार ९८९ जनाको स्वास्थ्य परीक्षण गर्दा दुई हजार १५६ पुरुष र एक हजार ३६१ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या चार हजार ९६ छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख २८ हजार ९५८ पुगेको छ । हाल देशभर दुई हजार ६६६ जना क्वारेन्टाइनमा छन् ।

थप १६ को मृत्यु

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा एक हजार ८८८ थप

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म काठमाडौं जिल्लामा कुल संक्रमितको सङ्ख्या ६० हजार ७४२ पुगेको छ । तीमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा कुल संक्रमितको सङ्ख्या आठ हजार ५९९ रहेकामा ६ हजार १९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा पाँच हजार ६५० जना संक्रमित भएकामा चार हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?