किशोर प्रधानको दाबी- ‘सहमति भनेको म नै वरिष्ठ उपाध्यक्ष हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अहिले चुनावी माहोलले तातेको छ । आगामी मंसीर ११ र १२ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुने गरेको छ । निर्वाचनको समय नजिकिदै जादाँ महासंघका पूर्व अध्यक्षहरु भने निर्वाचनको सहमती गराउन लागीपरेका छन् ।

विश्वव्यापी रुपमा कोभिड १९ को माहामारी फैलिरहेको अवस्थामा पूर्व अध्यक्षहरु सहमतीमा जुट्नु अत्यन्तै सकारात्मक देखिएको छ तर लोकपथसँग कुराकानी गर्दै किशोर प्रधानले आफू २८ वर्ष देखि महासंघमा आवद्ध भएको बताउँदै सहमती भनेकै किशोर प्रधान, अबको वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् । अन्यथा निर्वाचन प्रणालीबाटै जानुपर्ने धारणा राखे ।

यसै सहमतीको निकास खोज्न र चुनावमा प्रतिस्पर्धा गर्न आइतवार आउने भनेका प्रधान आजै काठमाडौं आइपुगेका छन् ।

पूर्वअध्यक्षहरु सहमती जुटाउन खोज्दै गरेको अवस्थामा वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी चन्द्र ढकालले कात्तिक ५ गते नै आफ्नो उम्मेद्वारी दर्ता गराइसकेका छन् ।

महासंघले नयाँ नेतृत्वका लागि निर्वाचन मिति पटक पटक तय गर्दा पनि कोरोना भाइरसको महामारीका कारण निर्वाचन मिति सारिँदै आएको थियो । कोरोना संक्रमणको महामारीका कारण यसअघि चैत २८ र २९ गतेका लागि तय गरिएको साधारणसभा साउन २६ र २७ गते हुँदै अहिले मंसीर ११ र १२ गतेका लागी तय गरिएको छ । कोरोना संक्रमणबाट बच्न सावधानी स्वरुप जारी गरिएको लकडाउन बन्दाबन्दी सँगै पछिल्लो निर्वाचन मिति स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?