राष्ट्रिय फुटबल टिमका पाँच खेलाडीलाई कोरोना

काठमाडौं । बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ । मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरी शुक्रवार थप एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । अहिले पाँचै जना आइसोलेसनमा रहेका छन ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् । गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमती नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन । तर सरकारले दशै लगत्तै प्रशिक्षणको अनुमती दिएसँगै एन्फाले बिहीवारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कार्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?