दमौली । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो ।
कार्यक्रमअन्तर्गत क्षेत्र नं १ मा एक हजार ५० र क्षेत्र नं २ मा आठ सय ६४ घरमा खरको छाना हटाइन लागिएको छ । खरको छाना भएका घर असुरक्षित हुने भएकाले सरकारले सबै जिल्लाका खर÷फुसको छानो हटाउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ । घरलाई जस्तापाताले छाउन स्थानीय तहमार्फत् प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।
कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठका अनुसार क्षेत्र नं १ अन्तर्गत देवघाट गाउँपालिकामा दुई सय १२, आँबुखैरेनी गाउँपालिकामा एक सय ९२, बन्दीपुर गाउँपालिकामा एक सय ९१, भानु नगरपालिकामा दुई सय ३६ र व्यास नगरपालिकामा दुई १९ घरको खरको छाना विस्थापित हुनेछन् ।
त्यस्तै क्षेत्र नं २ अन्तर्गत भीमाद नगरपालिकामा एक सय ७१, शुक्लागण्डकी नगरपालिकामा एक सय ५१, ऋषिङ गाउपालिकामा एक सय ५४, घिरिङ गाउँपालिकामा एक सय ६१, म्याग्दे गाउँपालिकामा एक सय ३२ तथा व्यास नगरपालिका–५ र ६ मा ९५ घरधुरीका खरको छाना विस्थापित गरिनेछ ।
कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु रहेको जिल्लास्तरीय कार्यान्वयन समिति गठन गरिएको छ ।
खरको छानो विस्थापन गर्न स्थानीय तहहरुले लाभग्राही छनोटको तयारी थालेका छन् । घिरिङ गाउँपालिकाले कार्यान्वयन कार्यविधि २०७५ को दफा १० (ख) अनुसार सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचना जारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज लामिछानेले जानकारी दिए।
व्यास नगरपालिकाले पनि कार्यक्रमका लागि लाभग्राही छनोट गर्न प्रक्रिया अघि बढाइसकेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया