सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त

भक्तपुर । आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दशैँको टीकाको चहलपहल देखिएको छ ।

छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गर्नुभएकी सङ्घीय सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जना कोरोना संक्रमण भई घरमै आइसोलेसनमा १५ दिनसम्म बसेका थिए । बुधवार उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

मुटुको शल्यक्रिया गरेकी आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिनमै उनले कोरोनालाई परास्त गरेपछि दशैँको टीका थाप्न पाउँदा खुशी लागेको सांसद बस्नेतले बताए । कोरोनाविरुद्ध लड्न आत्मबल चाहिने उल्लेख गर्दै उनले यसको खोप नआएसम्म दैनिकरुपमा तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जोजस्ता सामग्री सेवन गर्न सुझाव दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?