कोरोना कहर : यस वर्ष ‘सिस्नुपानी देउसी’ नहुने

काठमाडौं । कोरोना महामारीका कारण यस वर्ष सिस्नुपानी देउसी कार्यक्रम नहुने भएको छ ।

कोरोना महामारीका सिस्नुपानी नेपालले बिहीवार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उपन्न असहज परिस्थितीका कारण दुई दशक भन्दा लामो समयदेखि हुँदै आएको देउसी भैलो नहुने भएको हो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको सिस्नुपानी देउसी कार्यक्रम २०७७ आयोजना गर्न असमर्थ भएको जानकारी गराउँदछौँ । विगत २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम स्थगित गर्नु परेकोमा दुःख व्यक्त गर्दै हाम्रा आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ ।’

यस्तो छ विज्ञप्ति

विषयः ‘सिस्नुपानी देउसी’ बारे जानकारी ।

आदरणीय सञ्चारकर्मी मित्रहरू, हार्दिक नमस्कार !

सिस्नुपानी देउसी २०७७ का सम्वन्धमा यस संस्थाले जारी गरेको निम्न विज्ञप्तीलाई यहाँको सन्चारमाध्यममार्फत् प्रकाशन÷प्रसारण गरी आम नागरिकहरूको जानकारीमा पु¥याइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको सर्वविदितै छ । यस महामारीले हाम्रो देशलाई पनि अत्यन्त ठूलो प्रभाव परेको छ । हाम्रा वरिपरिका आफन्त, परिचितहरूमध्ये कतिपयले यस महामारीमा आफ्नो ज्यान नै गुमाइसक्नुभएको छ भने कतिपय महामारीसँग जुधिरहनुभएको छ । हाम्रा परिवार, छिमेक तथा आफन्तको दुःख पनि हाम्रै दुःख हो । कोही शोकमा कोही पीडामा भएका बेला आएका हाम्रा चाडपर्वलाई हामीले सामान्य तरिकाले मनाउँदैछौँ । आगामी दिनमा पनि हामीले यही सिलसिला कायम राख्नुपर्ने देखिँदैछ ।

उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि हामीलाई कोरोनाले दिनप्रतिदिन लपेट्दै लगेको छ । भोलि यस महामारीले हामी जो कसैलाई समाउन सक्ने सम्भावना पनि रहेकै छ । यसैबिच यस संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेल परिवारका सदस्यहरूसहित कोरोना संक्रमित भई उपचाररत रहनुभएको छ । हामी उहाँहरूलगायत समस्त कोरोना संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस महामारीको चपेटामा परेर ज्यान गुमाउने सम्पूर्ण विश्वनागरिकहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ ।

जीवन जोगिए धेरै कुरा जोगिन्छ तर सामान्य लापर्वाहीले जीवन गुम्यो भने सबै कुरा सिद्धिन्छ । अहिलेको हाम्रो एउटै मात्र लक्ष्य यस महामारीबाट आफू जोगिनु र अरुलाई जोगाउनु नै हो । त्यसैले राज्यले गरेका निर्देशन र स्वास्थ्यकर्मीको सल्लाहको पूर्ण पालना गर्दै हामीले पनि आफ्ना गतिविधिहरू सन्चालन गर्नुपर्छ ।

यसै परिप्रेक्षमा समयको प्रतिकूलतका कारण हाम्रो संस्थाका गतिविधिहरू पनि प्रायः ठप्प रहेका छन् । हामी एकापसमा भेटघाट गर्न सकिरहेका छैनौँ । अध्यक्ष र उपाध्यक्ष एकान्तमा बस्नु परेपछि भर्चुअल माध्यमबाट कुनै कार्यक्रम सन्चालन गर्न पनि अप्ठ्यारो परिस्थिति उत्पन्न भएको छ । अतः हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको सिस्नुपानी देउसी कार्यक्रम २०७७ आयोजना गर्न असमर्थ भएको जानकारी गराउँदछौँ । विगत २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम स्थगित गर्नु परेकोमा दुःख व्यक्त गर्दै हाम्रा आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ । धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?