सरकारलाई कांग्रेस नेता कोइरालाको प्रश्न : जनता न्याय माग्न कहाँ जाने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारसँग जनता न्याय माग्न कहाँ जाने भन्दै प्रश्न गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका कोइरालाले पर्साका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मुकेश चौरसियाको हत्यामा संलग्नको जाहेरी प्रहरीले लिन नमानेको कुरालाई लक्षित गर्दै त्यस्तो प्रश्न गरेका हुन् ।

नेता कोइरालाले देशमा दण्डहिनताले सीमा नाघेको समेत बताएका छन् । हत्या आरोपितलाई कारवाहीको माग राख्दा प्रहरीले मुद्धा दर्ता गर्न नमान्नुले हामीले कानूनी राज्यको कुरा गर्नुको औचित्य नरहेको समेत टिप्पणी गरे । बिहीवार एक ट्वीट गर्दै उनले भनेका छन्, “दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। ”

प्रहरीले जाहेरी लिन नमानेको घटनालाई आधार बनाउँदै नेता कोइरालाले कानूनी राज्य कहाँ छ ? जनता न्याय माग्न कहाँ जाने भन्दै प्रश्न सरकार समक्ष प्रश्न तेस्र्याएका छन् । “कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने” ? उनले भने ।

नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते भएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?