काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको संख्या बढ्दै गएको छ ।
जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधवार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको संख्या १०५ रहेको छ । मङ्गलबार जिल्लामा कुनै संक्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको संख्या १८ जना रहेको पोष्टले जनाएको छ । आइतवारअघिको ४८ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ ।
पोेष्टका अनुसार बुधवारसम्म काभ्रेपलाञ्चोकमा ५९९ महिलासहित एक हजार पाँच सय ३३ जना संक्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ संक्रमणमुक्त भएका हुन् । संक्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ ।
गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना भाइरसको सक्रिय संक्रमितमध्ये ४४ प्रतिशत अर्थात् १९० बनेपा नगरपालिकाका छन् । त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक÷एक सक्रिय सङ्क्रमित रहेको पोष्टले जनाएको छ ।
संक्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । यहाँको दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया