विद्युत् कार्यालयद्वारा सेवा पुनः सञ्चालन

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा शुरु गरेको छ । कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गत असोज १३ गतेदेखि सम्पूर्ण सेवा बन्द गर्दै विद्युत् कार्यालय सिल गरिएको थियो ।

विद्युत् महसुल बुझाउन आउने ग्राहक र उनीहरुका घरमा विद्युत् खपतको बिल काट्न जाँदा कोरोना संक्रमण थप बढ्न सक्ने भएकाले बन्द गरिएको सम्पूर्ण सेवा आजदेखि सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख लालबहादुर लम्सालले जानकारी दिए ।

असोज महिनामा तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि उपभोक्ताको बिल नकाटिएको भए पनि भदौमा ग्राहकले तिरेको विद्युत् महसुलका आधारमा विद्युत् खपत गरेको शुल्क तिर्नुपर्ने भएको छ ।

आजदेखि कात्तिक १९ गते एक हप्तासम्म असोज महिनाको महसुल तिर्न आउने ग्राहकलाई जरिवाना नलाग्ने र त्यसपछि जरिवाना लाग्ने भएको विद्युत् कार्यालय सिमकोटले जनाएको छ ।
प्राधिकरण कार्यालय सिमकोटले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार नौ सय घरधुरीलाई उज्यालो प्रदान गर्दै आएको छ ।

कोरोना पोजिटिभ भएका तीन कर्मचारीसहित तिनका सम्पर्कमा आएका अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै सम्पूर्ण सेवा चलाइएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?