दशैँ पछिको पहिलो कारोबार : दशैँको जमरा भन्दा फस्टायो शेयर बजार !

काठमाडौं । दशैँका लागी ५ कारोबार दिन बन्द रहेको शेयरबजार बुधवार खुल्नासाथ उकालोको यात्रा तय गरेको छ । प्रि-ओपेनिङ सेसनदेखि बढेको बजार अन्ततः साढे २ प्रतिशत भन्दा धेरैले बढेर बन्द भएको छ ।

बुधवार शेयर बजार परिसूचक नेप्से एकैपटक ४१.२० अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा नेप्से परिसूचक १६४७.४६ अंकको विन्दुमा बन्द भएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २.८९ प्रतिशतले उकालो लागेको छ । २.५७ प्रतिशतले बढेको नेप्सेमा ११ समूहको परिसूचक बढ्दा टेडिङ समूहको परिसूचक भने घटेको छ ।

बुधवार समूहगत परिसूचकमध्य बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक सबैभन्दा थोरै ०.२८ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ भने वित्त, होट्लस, जिवन बिमा, म्यूचल फन्ड र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेका छन् । बाँकि ४ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले वृद्धि भएका छन् । व्यापार समूहको परिसूचक भने ०.८० प्रतिशतले घटेको छ ।

बुधवार बढेको बजारमा बैंकिङ समुहको सर्वाधिक कारोबार भएको छ । जसमा ग्लेबल आइएमइ बैंकको सर्वाधिक २० करोड ६५ लाख ४४ हजार ५ सय ५० रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रोमा प्राइम कर्मशियल बैंक लिमिटेडको १७ करोड ४४ लाख ५० हजार ९ सय ५१ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ४ वटा बैंकको १० करोड भन्दा धेरैको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा पनि ग्लेबल आइएमइ बैंकको सर्वाधिक ६ लाख ९० हजार ७ सय १० कित्ता शेयरको खरिदबिक्रि भएको छ भने दोस्रोमा प्रभु बैंक लिमिटेडको ६ लाख २३ हजार ५ सय ३३ कित्ता शेयरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने जनरल इन्स्योरेनसको सर्वाधिक ८ हजार ५ सय ७६ पटक कारोबार भएको छ । दोस्रोमा भने ग्लेबल आइएमइ बैंकको २ हजार ७ सय १८ पटक कारोबार भएको छ ।

४० अंक भन्दा धेरैले बढेको बजारमा ३ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक ९ प्रतिशत भन्दा धेरैले बढेको छ । प्राइम कर्मशियल बैंक लिमिटेडका लगानीकर्ताले बुधवार ९.९० प्रतिशतले बुधवार कमाएका छन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश ःनेपाल फाइनेन्स र सिटिजन्स् इन्टरनेशनल बैंक लिमिटेड रहेको छ ।

बुधवार शेयरमूल्य घट्ने कम्पनीमध्य अधिकांश कम्पनी जलविद्युत समूहको कमपनी रहेका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३.४७ प्रतिशतले गुमाएका छन् । त्यस्तै रकमका आधारमा भने साल्ट ट्रेडिङ कर्पेरेशनका लगानीकर्ताले सर्वाधिक ४४ रुपैयाँले गुमाएका छन् ।

बुधवार १ सय ८८ कम्पनीको ४२ हजार ६ सय १८ पटकको कारोबारमा ९३ लाख २२ हजार ८५ कित्ता शेयरको खरिद बिक्रि हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँ २६ पैसा बराबरको कारोबार भएको छ ।

बुधवार कारोबारमा आएका कम्पनी मध्य १३२ कम्पनीको शेयरमूल्य उकालो लाग्दा २५ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बाँकि १० कम्पनीको शेयरमूल्य भने स्थीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?