कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

राजविराज । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए। घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उहाँलाई बिपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उहाँमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?