भारतमा तीन महिनापछि सबैभन्दा थोरै संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलवार सबैभन्दा थोरै देखिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन महिना भित्रमा मंगलवार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल संक्रमितको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको संख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा केही हप्ता अगाडिसम्म कोरोनाभाइरसबाट संक्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?