यी हुन् विज्ञानले स्वीकारेका हिन्दू धर्मका चलनहरु !

काठमाडौं । हिन्दू तथा सनातन धर्मका कतिपय संस्कार तथा चलनहरुलाई वास्तवमै उपयोगी तथा विज्ञान सम्मत मानिन्छन् ।

विश्वमा विकासले अग्र गति लिँदै गर्दा हिन्दू धर्मका कतिपय चलनहरुलाई विज्ञानले पनि स्वीकार गर्दै आएको छ ।

प्राचीन कालमा हाम्रा पूर्वजहरुले मानेका सामान्य कुराहरु पनि वैज्ञानिक रुपले मानिसको मस्तिष्क र स्वास्थ्यको लागि फाइदाजनक रहेको प्रमाणित भएका छन् ।

मानिसलाई उनीहरुले पालना गर्दै आएको चलनको अर्थ थाहा नभएता पनि पूर्वजहरुले मान्दै आएको संस्कार त्याग्नु हुन्न भन्ने विश्वासमा अढेर निरन्तरता दिँदै आएका छन् ।

प्राचीन ऋषिहरुले भगवान र धर्मसँग जोडेर वैज्ञानिक कुरालाई सामान्य मानिसहरुबीच नियमको रुपमा स्थापित गरिदिए ।

जुन बिस्तारै चलन,संस्कृति र पहिचानको रुपमा चिनिँदै गयो । हिन्दू धर्मका यिनै कतिपय चलनहरु विज्ञान सम्मत रहेको वैज्ञानिकहरु बताउँछन् ।

ति मध्ये वेद तथा उपनिशदमा उल्लेख गरिएका र विज्ञानले पनि मानेका केहि चलनहरु यसप्रकार रहेका छन् ।

१. दुबै हात जोडेर नमस्कार गर्नु

हिन्दू धर्ममा दुवै हात जोडेर नमस्कार गर्ने चलन छ । आफन्त,गुरुजन,मान्यजन तथा नयाँ मानिससँग भेट्दा वा पहिलो पल्ट परिचय गर्दा हामी सबैले नमस्कार गर्दछौँ ।

नमस्कार गर्नु भनेको सामान्य चिनजान गर्नु मात्र होइन । वैज्ञानिक रुपमा दुवै हातका औँला जोडेर नमस्कार गर्दा,मानिसको औँलाको टुप्पो जोडिँदा हाम्रो शरीरको इन्द्रिय सक्रिय हुन्छ ।

जसले सुन्न,देख्न र ध्यान केन्दि«त हुन मद्धत गर्दछ र लामो समयसम्म त्यो मान्छेको याद ताजा बन्दछ ।

नमस्कार गर्दा शारीरिक मेल नहुने हुदाँ हातको किटाणु पनि नसर्ने हुनाले रोगबाट पनि टाढा रहिन्छ ।

अझ भन्नुपर्दा आजको समयमा कोभिड १९ अर्थात नोवेल कोरोना भाईरसले विश्वव्यापी रुपमा आतंकित बनाईरहेको बेलामा हात मिलाएर परिचय गर्ने वा सम्मान प्रकट गर्नेहरुले पनि हात मिलाउन छोडेर नमस्कार गरिरहँदा हाम्रो सनातन धर्ममा लेखिएको वा हामीले अनुशरण गरेका संस्कार कतिको वैज्ञानिक छ भन्ने कुरा यहिबाट थाहा हुन्छ ।

२. मन्दिरको ढोकामा घण्टी हुने

बिहानै उठेर नित्य कर्म सकिसकेपछि हामी मन्दिर जान्छौँ । जानेर वा नजानेर मन्दिरमा भएको घण्टी त हामी पक्कै बजाउँछौ ।

शास्त्रले भन्छ– ‘घन्टी बजाउँदा दुष्ट शक्तिहरु (जस्तै–भुत,प्रेत,पिसाच आदी) टाढा हुन्छन् र भगवान आनन्दित हुन्छन् ।’

यतिमात्र होइन वैज्ञानिक रुपमा हेर्ने हो भने घण्टी बजाउँदा घण्टीको आवाजले हाम्रो मस्तिष्क खाली गराउँछ र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ । घण्टीको आवाजले हाम्रो दाँया र बाँया मस्तिष्कलाई एकत्रित गर्दछ ।

घण्टी बज्दा ७ सेकेन्डसम्म गुञ्जीने त्यसको प्रतिध्वनीले हाम्रो शरीरका हरेक अगंलाई ताजा र फुर्तिलो बनाइदिन्छ ।

३. उत्तर दिशामा टाउको फर्काएर सुत्न नहुने

खासगरी पृथ्वीमा चुम्बकीय तत्व हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ ।

जब हामी दक्षिणतर्फ शिर अर्थात टाउको राखेर सुत्छौँ, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ ।

यही कारण विहान उठ्दा मान्छेले ताजगी महशुस गर्छन् । तर, यदि उत्तरतर्फ टाउको फर्काएर सुत्छौँ, तब ठिक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकीय तरंग प्रवाह हुन्छ । जस्तो कि खुट्टाबाट प्रवेश गरेर शिरबाट निस्कन्छ ।

यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ ।

उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ । त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

४. पिपलको रुखलाई किन पूजा गरिन्छ ?

ज्योतिषीको सल्लाह अनुसार हामी पिपलको पूजा गर्दछौँ । पहिलेदेखि मानिसले पिपललाई किन पूजा गरे होला त यसमा पनि वैज्ञानिक कारण छ ।

रातमा पनि अक्सिजन फाल्ने केही मात्र वृक्ष मध्ये पिपल पनि एक हो । पिपलको बोटबाट विभिन्न खालको औषधि बनाउन पनि प्रयोग गरिन्छ ।

५.तुलसीको पूजा

हिन्दू धर्ममा तुलसीलाई पवित्रता र स्वच्छताको प्रतीक मानिन्छ र तुलसीलाई पूजा गर्ने चलन चल्दै आएको पनि छ ।

तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ । घर अगाडी तुलसीको लागि छुट्टै मठ बनाइ तुलसीलाई जल चढाएर बिहान बिहान पूजा पाठ गरेको हामीले देखेकै छौँ । नजानेका मानिसले पनि यो सब गर्दै आएका छन् ।

तुलसी हाम्रो शरीरको लागिएकदम फाइदाजनक वस्तु हो । तुलसीको पातलाई पानीमा राखि बिहान पिउने हो भने यसले अमृतकै काम गर्छ ।

किनभने यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरका सबै अंगहरुलाई सक्रिय बनाउँछ । घरमा तुलसीको विरुवा छ भने सर्प र लामखुट्टे आउँदैनन् ।

६.मूर्तिलाई पूजा गर्नू

हिन्दू धर्ममा वा अन्य धर्ममा आस्था राख्ने जो कोहीले पनि मूर्तिलाई पक्कै पनि ढोग्नु भएकै होला । हामी मनकामना,दक्षिणकाली,पशुपति गएर भगवानको अगाडी हात जोडेर के सोच्छौँ । पक्कै पनि आफूले इच्छाएको काम कुरा पूरा होस् भनि माग्नु हुन्छ ।

एक पल्ट याद गर्नुहोस् त, तपाई भगवानको अगाडी हात जोडेर उभिनुभएको । तपाईको मस्तिष्कले के सोचिरहेको हुन्छ ? मस्तिष्कले एउटा मात्र कुरालाई ठूलो बनाउँछ र भन्छ मेरो मनोकामना पुगोस् ।

यो गर्नु मस्तिष्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नका लागि ध्यान गर्दछ ।

ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुँदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिँदा सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ ।

मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ ।

७. विवाहित महिलाले सिन्दुर लगाउनु

सनातन हिन्दू धर्ममा विवाहित महिलाले सिउँदोमा सिन्दुर लगाउनै पर्ने र श्रीमानको मृत्युपछि हातको चुरा,सिन्दुर सबै त्याग्नुपर्ने चलन छ ।

पहिले बेसार कागती र एक धातुबाट सिन्दुर बनाइन्थ्यो र लगाईन्थ्यो । पिट्यूटरी ग्रन्थि (भावना जम्मा हुने ग्रन्थि) को ठिकमाथि सिउँदो हुने भएकाले र त्यही लगाईने हुनाले सिन्दुरले भावनामा पनि सकारात्मक उर्जा प्रदान गर्दछ ।

सिन्दुरमा हुने ‘मरकरी’ र रातो रङले रक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छा पनि जगाउँछ । यसैले गर्दा विधवालाई सिन्दुर र रातो रङबाट वञ्चित गराइन्छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?