तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणका लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ ।
चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाका लागि सङ्घीय सरकारबाट रु। पौने चार करोडको बहुवर्षीय बजेट विनियोजन भएको हो । चालु आर्थिक वर्षका लागि ८० लाख विनियोजित भई बोलपत्र आह्वान गरिएकोमा ६० लाखमा स्वीकृत भई काम भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
तीन वर्षअघि बोरिङ खन्ने कार्य सम्पन्न गरे पनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ । पम्प हाउस निर्माणपछि रिजर्भ ट्याङकीसम्म जिआई पाइप र विद्युत्लाइन जडान गर्ने योजना रहेको पोल्याङ लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष भरतराज नहर्कीले जानकारी दिए । सिसा खोला र बुल्दीखोलाको दोभानबाट करिब साढे दुई किलोमिटर लामो दूरीमा पर्ने निर्बु डाँडामा पानी लिफ्ट गरी दुई लाख लिटर क्षमताको रिजर्भ ट्याङकीमा सङ्कलन गरेर घरघरमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको उनले बताए।
स्थानीय बराह खोलाबाट विसं २०५७ मा ल्याएको पानीले १९ वटा धारा जडान गरी त्यसक्षेत्रमा पानी वितरण गर्दै आए पनि घरधुरी सङ्ख्या बढ्दै गएकाले पानीको समस्या हुन थालेको हो । विगतका वर्षदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीयवासीले पोल्याङ लिफ्ट खानेपानी योजनाको लागि बजेट निकासा भई काम शुरु गरेपछि खुशी हुन थालेको समितिका सचिव रमेश आचार्यले बताए।
आयोजनाका लागि स्थानीय उपभोक्ताले रु।चार लाख सङ्कलन गरी बैंकमा धरौटी राखेर निर्माण कार्य अघि बढाइएको अध्यक्ष नहर्कीले बताए । बोरिङ हाउस निर्माणका लागि स्थानीय गणेशराज अधिकारीले तीन आना जग्गा निःशुल्क रुपमा आयोजनालाई दिई मालपोत कार्यालयबाट रजिष्टेशन पास गरिदिएर सहयोग गरेका छन् । यस आयोजनाबाट हाललाई ३५० घरमा धारा पुर्याउने र जनसङ्ख्या बढ्दो क्रममा रहेकाले भविष्यमा एक हजार घरधुरीलाई वितरण गर्न सकिने गरी पूर्वाधार निर्माण भइरहेको समितिका सचिव आचार्यले जानकारी दिए ।
बराहखोलाबाट ल्याई वितरण गरिएको पानीले आपूर्तिमा सहज नभएपछि स्थानीयवासीले खानेपानीको चर्को सामना गर्नुपरेको छ । योजनाको निर्माण कार्य शुरु हुन थालेसँगै अब भने त्यसक्षेत्रका बासिन्दाले खानेपानी राहतको महशुस गर्न पाउने विश्वास गरिएको छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया