गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिवार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उनका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् ।
क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान लिएका छन् । शनिवार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो । उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए ।
अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा यादवको लापरवाहीका कारण ति युवतीको मृत्यु भएको उनले आरोप लगाए । मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए। क्लिनिकका सञ्चालक डा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। हाल उक्त क्लिनिक बन्द गराइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया