सम्पूर्ण नागरिकको जीवन रक्षा गर्न सरकार सदैव प्रतिवद्ध छ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकार सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिवद्ध रहेको बताएका छन् । बडा दशैँ लगायत विभिन्न चाडपर्वको शुभकामना दिँदै मन्त्री ढकाललले संविधानमै सुनिश्चित भएको स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि काम गरिरहेको बताउँदै नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

यस्तो छ मन्त्री ढकालको दशैँको शुभकामना सन्देश

दिदीबहिनी तथा दाजुभाइहरु,
हामी नेपालीहरुको महान चाड वडा दशैँ, तिहार, नेपाल संवत, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनर्मिलनको चाड हो, आफन्तहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई हामीले विगतमा सकेसम्म भव्यताका साथ मनाउने गरेका थियौँ । यसपटक कोरोना महामारीका कारण हामीले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन सम्पूर्णमा अपलि गर्दछु ।

यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गर्ने गरेकै हौँ । यस पटक कोरोना महामारीका कारण यस विषयमा अझै बढी ध्यान दिनुपर्ने देखिएको छ । हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्यौ भने कोरोबाट बच्न सघाउन पुग्दछ । यसकारण म सम्पूर्णमा यसमा अलि बढीनै ध्यान दिन अनुरोध गर्दछु ।

यो महामारी विरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग प्रति आभार व्यक्त गर्दछु । यो रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय भनेको मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरके प्रयोग गर्न सबैप्रति हार्दिक अनुरोध गर्दछु ।

आज हामी राजनीतिक स्थायीत्वसँगै समृद्धिको यात्रामा लम्किरहेका छौँ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हामीले स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिनुपर्छ । त्यसैका लागि सरकारले निरोगी नेपालका लागि काम अघि बढाएको छ । संविधानमै सुनिश्चित भएको स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि हामी काम गरिरहेका छौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध छ । मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट संचालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ । अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको छ । अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको छ । अस्पतालको गेडभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपरोस भनेर गरिब, बिपन्न र वेबरिस मानिसको आकस्मिक उपचार निशुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ ।

सरकार सधैँ आम नागरिकको साथमै रहेको छ । यो महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी छ । सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ । अन्तमा यो एकताले महामारी हाम्रो विजय सम्भव हुने विश्वास व्यक्त गर्दै फेरि एक पटक वडा दशैँ, तिहार, नेपाल संवत, छठ लगायतका सम्पूर्ण चाडपर्वहरुको उपलक्ष्यमा सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भानुभक्त ढकाल
मन्त्री, स्वास्थ्य तथा जनसंख्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?