२०७७, ८ कार्तिक शनिबार १५:३६

दशैंमा हाँसको बजार


प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार १५:३६

काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण यसपटकको दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए ।

विरगञ्ज देखि काठमाडौंको सुन्धारामा हाँस विक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताए । गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गरेका साहले यसपटक २०/२५ वटा सम्म पनि विक्री गर्न नसकेको बताए ।

हाँस नै विक्री गर्न नसकेपछि दशैं मनाउन समेत समस्या हुने उनको भनाई छ । आफूले ल्याएका सबै हाँस कम मूल्यमा विक्री गरेर भएपनि दशैं मनाउन विरगञ्ज फर्किनुपर्ने बाध्यता भएको पनि साहले जनाए ।

यस वर्ष हाँसको मूल्यपनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८ सय देखि एक हजार रुपैयाँ सम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ । त्यसैले पनि हाँस विक्री नभएको हुनसक्छ । यस्तै काठमाडौं उपत्यकामा दशैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँस खोज्ने प्रचलन रहेको छ । त्यसैले पनि दशैंको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपंक्षीहरुको व्यापार कम भएको छ ।

प्रतिक्रिया दिनुहोस