अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले संक्रमितहरुको संख्यामा वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

केही अस्पतालहरुमा संक्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको तथ्याङ्का छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।

विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस संक्रमित भएका छन् । यस अघि एकैदिनमा सवैभन्दा धेरै संक्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।

त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा संक्रमित भएका छन् । यो संख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको संख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो ।

पछिल्ला केही दिनदेखि सङ्क्रमितहरुको संख्यामा बृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ । शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय देशहरुमा पछिल्लो समयमा फेरी संक्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिका सहितका कतिपय मुलुकहरुमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?