उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअपको नि:शुल्क तालिम

काठमाडौं । उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल आयोजना हुने भएको छ । वाग्मती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नव-प्रवर्द्धन प्रस्ताव आह्वान (Start-up  Ideas Call )आयोजना गर्ने भएको हो ।

युवाहरुको ज्ञान, सीप र क्षमतालाई नव-प्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी नि:शुल्क तालिम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको बिशेष उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन नि:शुल्क रुपमा  तालिम  प्रदान गर्ने बताए ।

ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्तगर्ने भएकाले यो आर्थिक बर्षमा एकसय भन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले विश्वास व्यक्त गरे ।

नव-प्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए ।

नयाँ-नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई नि:शुल्क रुपमा सरकार, निजि क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाई रहेको छ ।

समझदारी अनुसार मंसीर पहिलो हप्ताबाट आइडिया कल शुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालिम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ ।

नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?