खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

सुदूरपश्चिम । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।

महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उनले बताए। ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिनु भएका बुढामगरले भने, “बिक्री नभएका खसी बोकालारई अब हिँडाएरै आफ्नै गाउँतिर फिर्ता लग्दैछौँ ।” आफ्नो गाउँवाट १५ वटा खसी खरिद गरी धनगढी बजारमा व्यापार गर्नु भएका उनका गएको चार दिनमा जम्मा पाँच खसी मात्र बिक्री हुन सकेका छन् ।

विगत दशैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण ठूलो असर पुगेको घुम्ति व्यापार गर्ने गरेका किसानले बताएका छन् । बाख्रापालन गर्दै आउनु भएका चुरे गाउँपालिकाका अर्का किसान जीवन थापाले कोरोना फैलिने डरले दशैँको समयमा खसी बोकाको घुम्ति व्यापार नै गरे । ‘‘जताततै कोरोनाको त्रास देखिँदा व्यापार गरेर कमाई गर्ने बाटो बन्द भयो”, थापाले भने ।

चुरे गाउँपालिकामा स्थानीय किसानले पालेका झण्डै २५० खसीबोका भने यसपाली काठमाडौं र पोखरावाट आएका व्यापारीले खरिद गरेर लगेका छन् । ‘‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुश्किलले प्रति किलो ५०० देखि ५५०मा खरिद बिक्री भइरहेको छ”, स्थानीय किसान प्रेम आचार्यले भने, “यहाँका खसी बोका पोखरा काठमाडौं पुर्याएर बेच्दा प्रतिकिलो ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको रहेछ ।”

बाख्रापालनका लागि उर्बर भूमि मानिने चुरे गाउँपालिका क्षेत्रमा बाख्रापालन गर्ने किसानलाई सरकारवाट सहयोग नपुगेको गुनासो कृषकको छ ।

हाल ३६ वटा बाख्रा पाल्दै आएका आचार्यले सरकारले बाख्रापालन गर्ने किसानलाई विभिन्न सहयोग गर्ने गरेको भन्ने सुनिएपनि आफ्नो गाउँठाउँमा सरकारी कार्यक्रम कहिल्यै नपुगेको बताए। कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन र फलफूल खेती छ ।

घर घरमा खसी बोकाको मार हान्ने र देवी—देवताको नाममा बलि दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा दशैँको समयमा खसी बोकाको कारोवार पनि घट्दै गएको व्यापारीको भनाइ छ । पहाडी क्षेत्रमा पालिएका खसी बोका दशैँको समयमा कैलालीका सहरी क्षेत्रका अलावा जिल्ला बाहिर समेत बिक्रीका लागि लैजाने गरिएको छ ।

यस पटक कोरोनाको संक्रमणको जोखिमका कारण किसानले पर्याप्त संख्यामा खसी बोका बजारमा ल्याउन नसकिएको व्यापारीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?