डिजिटल बैंकिङ कारोबारमा बैंकहरुको जोड

काठमाडौं । कोभिड १९ संक्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । त्यसैपनि केही वर्ष यता नेपालको बैंकिङ क्षेत्र डिजिटल मैत्रि बन्दै गएको छ । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैंकहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दावि गरेका छन् ।

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पस मेसिन, क्युआर कोड लागयतबाट डिजिटल कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् ।

कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैंक तथा वित्तीय संस्थाहरु देखिन्छन् । डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा पैसा पठाउने, आफूलाई आवश्यक बस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ ।

त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । बैंकहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनिय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् । ग्लोबल आईएमई बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख परमेश्वर श्रेष्ठले डिजिटल कारोबारलाई सुरक्षित सहज र व्यवस्थित बनाउन बैंकहरुले ठूलो लगानी गरिरहेको बताउनुभयो । त्यसबाहेक ग्राहकले पनि आफ्नो बैंक खाता नम्बर, पासवर्ड कसैलाई पनि नदिए डिजिटल बैंकिङ सुरक्षित हुने उनले बताए ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न समयमा दिदै आएका निर्देशिका बमोजिम बैंकहरुले सुरक्षाका प्रावधानहरुलाई अध्यावधिक गर्दै गएको पनि देखिन्छ । त्यसैले पनि पछिल्लो समय नेपालको बैंकिङ सेवा अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको छ । सनराइज बैंकका डिजिटल विभाग प्रमुख प्रकाश पौडेलले पनि बैंकहरुले डिजिटल कारोबारमा दिदै आएका सबै सुविधाहरु सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको बताए ।

यसबाहेक डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि हो । आफुले लिएका कुनैपनि बैंकिङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिन बैंकर्सहरुको सुझाव छ । ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरुसँग बैंकले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैंकर्सहरुले आग्रह गरेका छन् । त्यसैले आधुनिक जमनाको बैंकिङ सुविधा उपभोग गर्दैगर्दा त्यसको सुरक्षाका लागि बैंक मात्रै नभएर व्यक्ति आफै पनि सचेत हनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?