भदौ मसान्त सम्म शेयर बजारको यात्रा …

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौसम्ममा १ खर्ब बराबरको विकास ऋणपत्र, ४ अर्ब ४५ करोड बराबरको साधारण शेयर, ३ अर्ब ८७ करोड बराबरको बोनस शेयर, २ अर्ब बराबरको डिबेन्चर, ७० करोड बराबरको हकप्रद शेयर र ६५ करोड रुपैयाँ बराबरको म्युअचल फण्डका इकाई धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएका हुन् ।

चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल १ खर्ब ११ अर्ब ६७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा २०७७ भदौसम्ममा सूचीकृत ४ अर्ब ८७ करोड शेयरको चुक्ता पूँजी ४ खर्ब ७७ अर्ब ७९ करोड रुपैयाँ रहेका छन् । २०७६ भदौ मसान्तमा ११५०.७ रहेको नेप्से सूचक २०७७ भदौ मसान्तमा १ हजार ५४१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचक १३६२.४ रहेको थियो ।

२०७७ भदौ मसान्तमा धितोपत्र बजार पूँजीकरण २० खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ भदौमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१० रहेको छ ।

चालु आवको भदौसम्ममा नेपाल धितोपत्र बोर्डले ९३ करोड ८६ लाख बराबरको साधारण शेयर र ३६ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल १ अर्ब ३० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ७५.८ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?