ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीक्षेत्रका बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता अहिले टरेको छ । खिजीफलाटेबाट श्रीचौरहुँदै सडक जोेडिएकाले जिल्ला सदरमुकाम पुग्न अन्य जिल्ला घुम्नु पर्ने बाध्यता अन्त्य भएको हो ।
आफ्नै जिल्लाको सडक विस्तार नहुँदा खिजीदेम्बाका बासिन्दा रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र उदयपुरको घुर्मी पुगेर ओखलढुङ्गा सदरमुकाम पुग्ने गरेका थिए । यसअघि जन्तरधापबाट सोलुखुम्बुको सिमाना घुमेर भुसिङ्गा र पात्ले हुँदै खिजी फलाटेसम्म सडक जोडिए पनि हिउँदमा हिउँ र वर्षामा पानी पर्दा महिनौंसम्म ती सडक अवरुद्ध हुने समस्या थियो ।
अहिले श्रीचौरको यलुङखोलादेखि ओखरबोट, हातेबन्से हुँदै खिजीदेम्बाको केन्द्र फलाटे बजार सम्म सडक जोडिएको छ । त्यहाँबाट शाखा सडकहरू पनि खिजीका सबै वडा र टोलमा पुगेका छन् ।
अहिले श्रीचौरबाट जोडिएको सडक सबैभन्दा छोटो र भरपर्दो हुने खिजीदेम्बाका देवकृष्ण खड्काले बताए। सदरमुकामसँग सहज सडक पहुँच नहुँदा दुर्गम मानिने गाउँ अब सुगम बन्न थालेको उनको भनाइ थियो । “जिल्ला सदरमुकाम पुग्न पहिलेजस्तो अब घुम्न परेन् । छोटो बाटोबाटै छिटै सदरमुकाम पुगिने भयो ।” उनले भने, ‘अनकन्टार ठाउँमा जन्मिएछ जस्तो लाग्थ्यो तर अहिले दुर्गम मानिएको हाम्रो गाउँ अहिले सुगम भएको छ। वर्षौदेखिको आफूहरूको माग र आवश्यकता सम्बोधन भएको भन्दै स्थानीयवासी खुशी भएका छन् ।
यो सडक खुलेसँगै खिजीदेम्वाबाट मोलुङ गाउँपालिका केन्द्र प्राप्चाहुँदै सदरमुकाम ओखलढुङ्गा आइपुग्न अहिलेको कच्ची सडकमा बढीमा पाँच घण्टा लाग्छ । यसअघि पैदल हिँड्दा १८ घण्टाभन्दा बढी लाग्नाका साथै खर्चिलो यात्रा र अन्य जिल्ला घुम्नुपर्ने बाध्यताले स्थानीयवासीले पैदल मार्ग नै प्रयोग गर्ने गरेका थिए ।
साविकको इलाका नम्बर ६ हालको खिजीदेम्बा गाउँपालिकाका बासिन्दाको सदरमुकाम आवत–जावत गर्ने छोटो दूरीको पैदलमार्गबाटै अहिले सडक जोडिएको छ । भीर–पहरासहितको भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा सडक निर्माण गर्ने कसैको योजना थिएन ।
विसं २०७०मा वर्तमान सांसद यज्ञराज सुनुवारले संविधानसभा सदस्यको उम्मेदवार हुँदा यो सडक निर्माण गर्ने वाचा गरेका थिए । निर्वाचित भएलगतै खिजीदेम्बाका स्थानीयवासीले देशका सांसदको संख्या जत्तिकै ६०१ मिटर लामो फूलको मालाले सम्मान गर्दै उनलाई खिजीक्षेत्रको समस्याबारे ध्यानाकर्षण गराएका थिए ।
उनले सो स्थानमा सडक जोड्न संविधानसभा सदस्य हुँदा खिजी–दोब्रेभञ्ज्याङ जोड्न रू १० लाख, प्रतिनिधिसभामा निर्वाचित भएपछि दोब्रेभञ्ज्याङ–हात्तेबन्से जोड्न ५१ लाख, गतवर्ष मोलुङको यलुङखोलादेखि ओखरबोट हुँदै हातेबन्से जोड्न ४० लाख र यसवर्ष ३५ लाख गरी एक करोड ३६ लाख उपलब्ध गराएका थिए ।
यो सडक निर्माणमा खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिकाले पनि साझेदारी गरेका थिए । श्रीचौर–फलाटे सडकखण्डमा करिब ३५ किलोमिटर चट्टान काटिनाका साथै झण्डै ३०० घण्टाभन्दा बढीसमय पहरो फुटाउन ब्रेकर चलाउनु परेको निर्माण उपभोक्ता समितिका पदाधिकारीले बताए ।
विसं २०७० मा खिजीमा नापी, मालपोत र इलाका प्रशासनजस्ता कार्यालय ल्याउन पहल गर्नाका साथै सिधै सदरमुकामसँग जोड्ने सडक निर्माणमा योगदान पुर्याएका सांसद सुनुवारका बाचा अहिले आएर पूरा हुँदै गएको खिजीदेम्बा ४ का वडाध्यक्ष कमल न्यौपानेले बताए। उनका अनुसार नापी, मालपोत र इलाका प्रशासन सहितका कार्यालय अहिले सञ्चालनमा आइसकेका छन् । गाउँमै सेवा पाएपछि स्थानीयवासीलाई पनि ठूलै राहत मिलेको वडा अध्यक्ष न्यौपानेको भनाइ थियो ।
सांसद सुनुवारको पहलले जिल्लाका दुर्गम गाउँको मुहार फेरिएको पात्लेका पेम्बा शेर्पाले बताए । “भन्न त नेताहरूलाई जुन जोगी आएपनि कानै चिरेका भन्छन् तर सुनुवार सांसद निर्वाचित हुनुअघि र पछि गाउँको विकासको तुलना गर्ने हो भने त्यो भनाइ गलत सावित हुन्छ ।”उनले भने, “सांसद सुनुवारकै पहलमा पात्लेजस्तो दुर्गम र खिजीजस्तो पछाडि परेको ठाउँमा अहिले सडक पुगेका छन् । अरु विकासका काम पनि गाउँघरमै बढी भइरहेका छन् ।” बाँकी अधुरा आयोजना र अपूरा विकासका कामलाई पूर्णता दिन स्थानीयवासीको माग छ ।
सांसद सुनुवारले आफूले चुनावमा गरेको बाचा पूरा गरेको जानकारी दिए । सडकको ट्रयाक खोलेर गाउँघरका टोल बस्तीलाई छोटोबाटोबाट सदरमुकाम जोडिएको र कच्ची सडक स्तरोन्नतिका लागि अब प्राथमिकतामा राखिने उनको भनाइ थियो । “बाह्रै महिना चल्ने गरी छोटो बाटो भएर खिजीसम्म सडक जोडिएकाले आफ्नै जिल्ला पुग्न अरुका जिल्ला घुम्नुपर्ने बाध्यता अब हट्यो, अब सडक स्तरोेन्नति गरिन्छ ।”
सांसद सुनुवारले भने, “समृद्ध ओखलढुङ्गा, सुखी र खुसी ओेखलढुङ्गे बनाउने हाम्रो लक्ष्य अन्तरगतको यो सडक अब यहाँका किसान र मजदूरको जिविकोपार्जनसँग जोडिन्छ ।’ संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरूको सक्रियताले जिल्लामा विकास निर्माणका काम गर्न सहज भएको उनको भनाइ थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया