काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले विजया दशमी, शुभदिपावली, म्हःपूजा, न्हुँद र छठपर्व २०७७ को शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वव्यापी कोरोना महामारीले नेपाललाई निरन्तर आक्रान्त तथा भयावह बनाउँदै ल्याएको र महामारीबाट सयौँले आफ्ना प्रियजन गुमाउनु परेको वियोगात्मक अवस्थाका अतिरिक्त,भोकै मृत्यु हुने र आत्महत्याको संख्या भयावह हुँदैछ। यस्तो अभुतपूर्व राष्ट्रिय स्थिति भयावह आर्थिक संकटबीच यस वर्षका बडादशैँ, दीपावली, म्हःपूजा, नेपाल सम्वतको न्हुँद (नववर्ष) ११४१ र छठजस्ता महत्वपूर्ण राष्ट्रिय चाडपर्वहरू आइरहेका छन् । महामारीबाट मुक्त, स्वस्थ र शान्तिपूर्ण जीवन, वर्तमानमा हामी सबैको अनिवार्य र साझा चाहना, आवश्यक्ता एवं चाडपर्वहरूको सार्थकता हो भन्ने मान्यता लिएर हामीले यी पर्वहरू मनाउनु आवश्यक छ ।
महामारीकै अवस्थाबीच सत्ता सञ्चालकहरूबाट हुँदैआएको सरकारी सम्पत्तीको अपव्यय, भ्रष्टाचार, लापरवाही, मुलुकका संकट तथा महामारीप्रतिको जिम्मेवारीलाई पूरै पन्छाउँदै सत्तारुढ पार्टीभित्र मच्चिएको सत्ता–कलह र आमजनताको जीवन र स्वास्थ्यमाथि सरकारी खेलवाड नहुँदो हो त निश्चित रुपमा परिस्थिति यति जटिल हुनपाउने थिएन । यो निराधार लाञ्छना वा विरोधको निम्ति विरोध होइन, आजको तीतो वास्तविकता हो । असत्यमाथि सत्यको ,अन्याय माथि न्यायको, अविवेक माथि विवेकको र व्यभिचार र भ्रष्टाचार विरुद्ध सदाचारको विजय को मान्यता र सद्भाव बोकेको विजयको प्रतिक चाड बडादशैँको सन्दर्भमा व्यक्त हुनैपर्ने कटु सत्य हो ।
तर पनि हामीले आफ्ना चाडपर्वहरू मनाउनु परेको छ । हरेक वर्ष हाम्रा प्रिय चाडपर्व आउनु प्रकृति हो, यसलाई समतावादी र सामाजिक रुपले मनाउनु हाम्रो संस्कृति हो, भड्किलो र अपव्ययी तरिकाले मनाउनु विकृति हो । प्रकृति, संस्कृति र विकृतिबीचको यो भेद चाडपर्व मनाउने बेलामा सम्झिनु उचित होला । महामारीको संकटपूर्ण परिस्थितिमा स्वयंलाई सजग र होशियार बनाई भोलीको मुक्त र सुखद परिस्थितिको प्रतिक्षाका साथ यी चाडपर्वहरूलाई घर–परिवारभित्रै एकदमै सामान्य र सीमित ढंगले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर मनाउनु सर्वोत्तम उपाय हो ।
हाम्रा चाडपर्वहरू मानवताको उत्थान, सामाजिक सद्भाव र अन्तरजातीय भाईचारा प्रवर्द्धन गर्ने सांस्कृतिक र आध्यात्मिक माध्यम हुन् । दशैँ र तिहारमात्र होइन नेवार समुदायबाट विकसित म्हःपूजा तथा न्हुँद (नववर्ष) र तराई–मधेसको संस्कृतिबाट विकसित छठ पूजा हाम्रा साझा राष्ट्रिय पर्व र गर्वका उत्सव हुन् । हिमालको काखमा वा पहाडका खोँचमा वा तराई–मधेशका देहातमा, स्वदेश वा विदेश जहाँ बसेका भए पनि सम्पूर्ण नेपाली दाजुभाई दिदीबैनीहरूमा हामी यी महान पर्वको शुभउपलक्ष्यमा आगामी दिनमा सुखद परिस्थिति, शान्ति , समृद्धि र सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जय नेपाल ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया