फ्यामिली भिजिट : कोरोना कहर कम भएपछि यी ठाउँ जाने की !

काठमाडौं । यसपटक दशैँले पहिलेका वर्षजस्तो उल्लास ल्याउन सकेन । गत अंग्रेजी वर्षको अन्तिम साता चीनको वुहान शहरबाट शुरु भएको भनिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण १० औँ महिनासम्म अस्तव्यस्त दैनिकी गुजार्नुपर्ने बाध्यात्मक अवस्थाले पनि नेपालीहरु खुलेर चाडवाड मनाउने मूडमा छैनन् । तर हिन्दु नेपालीहरुको महान् चाड बडा दशैँ र यसबीचमा हुने लामो छुट्टीमा उकुसमुकुस भएको मन कतै गएर बहलाउने की ? भनेर धेरै परिवारले स – सानो ‘ट्रिप’ जाने योजना बनाएका छन् ।

हुन त घटनास्थापनादेखि नै दशैँ शुरु हुने भएकाले दशैँमा राम्रो लगाउन र मिठो खाने प्रचलन धेरै अगाडी देखि नै चलिआएको हो ।

अहिले एउटा सिरीज थपिएको छ । त्यो हो, घुमघाम । अझ कोरोनाको कहरले निस्सासीएका मानिसलाई कहिँकतै निस्कन पाए रु भन्ने पनि लागिरहेको छ ।

यसपटक काम र पढाईको सिलसिलामा काठमाण्डौमा बस्नेहरु निकै अघि घर फर्किए । केहि दशैँको मुखमा फर्किए । विदेशमा भएकाहरु भने नियमित उडान नभएका कारण नेपाल आउन पाएनन् । अप्ठेरोमा परेका ८० हजारजति नेपालीलाई भने सरकारले स्वदेश ल्यायो । केहिले नियमित भन्दा चार्टर्ड उडान एकदमै महँगो भएका कारण दशैँ खल्लो भएको अनुभुति गरिरहेका छन् । खैर, नेपालमा हुनेहरु स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न स्थानमा घुम्न निस्कीने योजनामा छन् ।

हुनत पछिल्लो समय दशैँको बिदामा साथीभाइसँग घुम्न जानेहरुको संख्या पनि बढ्दै गएको छ । दशैँको समयमा धेरै दिन बिदा हुने भएकाले पनि युवाहरुमा घुम्न जाने गरेका छन् । दशैँको बिदामा परिवार तथा साथीभाइसँग घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ होला । नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ छन् । मिलेसम्म दशैँका प्लानमा एउटा यो ठाउँ पनि राख्नुहोस् । जहाँ पुगेर तपाइलाई मानसिक शान्ति र आनन्द मिल्नेछ ।

पोखरा
कास्की जिल्लामा पर्ने पर्यटकीय नगरी पोखरा घुमफिरका लागि आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्छ ।

पोखरामा फेवाताल, तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर, गुप्तेश्वर गुफा, चमेरु गुफा, बेगनाश ताल, साराङकोट, विभिन्न ताल लगायतका मनमोहक ठाउँहरु रहेका छन् । यहाँको खास विशेषता भनेको डुङ्गामा शेयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाउनु हो ।

पछिल्लो समय पोखरामा सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नेको भिड बढेको छ । एउटै गन्तव्यमा धेरै नयाँ र आकर्षक स्थानको अवलोकन गर्न पाउने गन्तव्य हो, पोखरा ।

लुम्बिनी

भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी निकै आकर्षक गन्तव्य हो, घुमफिर र ज्ञान बटुल्नको लागि । लामो यात्राको रुची राख्नेहरुको लागि लुम्बिनी उत्तम हुनसक्छ । शान्तिको लागि छट्पटिएकाहरुले त्यहाँ पुग्छन् ।

लुम्विनी प्रमुख आकर्षण भनेको मायादेवी मन्दिर हो । अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका पनि रहेका छन् । त्यहाँका सबै गुम्बाहरु अत्यन्तै सुन्दर भएकाले गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ । काठमाडौँबाट भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुग्न सकिन्छ । वा सडक माध्यम प्रयोग गरेर पनि जान सक्नुहुन्छ ।

सौराहा
वाईल्ड लाइफ तथा थारू संस्कृति हेर्न रुचि राख्नका लागि चितवनको सौराहा निकै उपयुक्त गन्तव्य हुन्छ । सौराह चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घुम्नका लागि चर्चित रहेको छ । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जिप सफारी गर्दै बाघ, गैंडा, घडीयाल अवलोकन गर्न पाइन्छ, यहाँ । त्यतिमात्रै होईन प्रकृतिसँग नजिक भएर रमाउन चाहनेको लागि यो सबैभनदा उत्तम विकल्प हो । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर पनि देखिन्छ ।
सौराहा जंगल सफारी, हात्ती सफारी, चरा वाचिङ तथा थारू संस्कृतिका लागि प्रख्यात रहेको छ ।

बन्दीपुर
तनहुँको डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुर दशैँको बिदामा घुम्नको लागि अर्को राम्रो ठाँउ हो । पूराना घरहरूलाई कलात्मक रूपमा सिँगारिएको बन्दीपुर तनहुँको पुरानो बजार हो । नेवारी बस्ती र सुन्दर दृश्यले सबैलाई आकर्षीत गर्ने गरेको छ । यहाँबाट तनहुँको सुन्दर फाँटहरू, हिमाललगायतका दृश्यहरू हेर्न पाइन्छ ।

घलेगाउँ

पछिल्लो समय लमजुङको घलेगाउँ पर्यटनका लागि प्रसिद्ध बन्दै आएको छ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखलाहरू, बाहृै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका छिर्ने साँघुरा बाटाहरू, बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा सामान्य कुराकानीले सबैलाई आकर्षण गरेको छ ।

मुस्ताङ
हिमाल पारिको जिल्लाका रुपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रुपमा रमणिय ठाउँ हो । अन्नपूर्ण र धौलागिरी हिमालको छायाँमा रहेको यस जिल्ला चट्टानहरुले बनेको मरुभुमीजस्तै देखिन्छ । उच्च स्थानमा रहेकाले यहाँ दिउँसोको समयमा हावाको वहाव एकदमै तेज हुने गर्दछ । बाह्रै महिना हिउँले ढाकिने हिमालहरुको काखमा रहेको मुस्ताङमा पनि हिउँ पर्ने गर्छ । विशेषतः जाडो महिनामा धेरै हिउँ पर्ने गर्दछ । हिउँमा खेल्न मनपराउनेको लागि भनेर मुस्ताङ उपयुक्त गन्तव्य हुन्छ । मुस्ताङलाई मध्यभाग पारेर बग्ने कालीगण्डकीको आफ्नो छुटै विशेषता रहेको छ । त्यो अति मनमोहक देखिन्छ । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्यटकीय स्थल हो ।

नगरकोट
भक्तपुरमा पर्ने नगरकोट प्राकृतिक रुपमा मनोरम स्थल हो । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्जनजङ्घा, मनास्लु, लाङटाङ, गौरिशंकर, ल्होत्से, मकालुजस्ता हिमालको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ ।
नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

जनकपुर
धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ । तपाईको संस्कृति, रहनसहन बुझ्न अनि आफ्ना बालबालिकालाई बुझाउन तपाईको लागि यो पनि राम्रो गन्तव्य हुनसक्छ ।

कालिञ्चोक
दोलखा जिल्लामा रहेको कालिञ्चोक प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । यहाँबाट प्रकृतिको हरियालीसँगै हिमाली दृश्य राम्रोसँग देखिन्छ । धार्मिक आस्था भएकाहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जाने गर्छन् । यहाँबाट विभिन्न हिमशृंखलाहरु समेत देख्न सकिन्छ ।

जिरी
जिरी नेपालको स्वीटजरल्याण्डको नामले प्रख्यात छ । दोलखा जिल्लाको प्रमुख र आकर्षक गन्तव्य हो, जिरी । तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन् । जिरी सगरमाथा प्रवेशद्वारका रुपमा पनि परिचित छ । यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ ।

पुनहिल
पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौँ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जाँदा रमाईलो हुन्छ ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

एभरेष्ट बेस क्याम्प
माउन्ट एभरेष्ट चढ्न नसकेपनि माउन्ट एभरेष्ट चढेको झल्को दिने गरि एभरेष्ट बेस क्याम्प सम्म भने ट्रेकिङ गर्न सकिन्छ ।
यो ट्रेकिङ गर्ने हरेकले आफै सगरमाथा चढेको अनुभव गनै गरेका छन् । १६ दिन लामो ट्रेकमा सुन्दर लालिगुराँसको जङ्गलहरु, ढुंगाको पर्खाल लगाइएको सुन्दर शेर्पा गाँउहरुमा पुग्न सकिन्छ । शेर्पाहरुको यो भूमिबाट नाम्चे, पोत्र्से गाउँ लगायतका सुन्दर गाउँ हुँदै अगाडी बढ्दा जादुमयी एभरेष्ट र नुप्त्से हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण पदमार्ग
पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।
अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो । यो ट्रेकमा १४ दिन बिताउन सकिन्छ ।

 

कोशी टप्पु
कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।
कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।

अझै युवापुस्ताले बाईकमा पुगेर घुमफिर गर्ने एउटा मुख्य गन्तव्य बनाएका छन् मनाङ र मुस्ताङ । तपाई त्यहाँको यात्रा पनि तय गर्न सक्नुहुन्छ ।

(नोट : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ बाट बच्न नेपाल सरकारले भिडभाड नगर्न, ठूलो जमघट नगर्न, भौतिक दूरी कायम गर्न, मास्कको उचित र अनिवार्य प्रयोग गर्न, सेनिटाईजरको प्रयोग गर्न सबैमा अनुरोध गरेको छ । एकबाट सजिलै दोस्रोमा सर्ने प्रकृतिको भाइरस र यसविरुद्धको भ्याक्सीनको सहज उपलब्धता नभएका कारण विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा आउँदा अनिवार्य पीसीआर गरेको हुनुपर्ने वा नयाँ मानिसलाई प्रवेशमा निषेध गर्ने नीति लिएको हुनसक्छ । यसअर्थ आफू जाने गन्तव्यमा पर्ने स्थानीय सरकारसँग भरपर्दो सूचना लिएर मात्रै जानु राम्रो हुन्छ ।
यहाँहरुको बडादशैँ र यसपछिको घुमघाम रमाईलो गरी बितोस् । लोकपथ डटकमसँगै रहनुहोला ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?