नेपालमा ४४ हजार बढी ‘एक्टीभ केस’ हुँदा मनाङ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकमात्र जिल्लामा कोरोना संक्रमित शुन्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मनाङ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार २५५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । यो कुल संक्रमितको ६९.२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ३१ हजार ५३८ जना र संस्थागत आईसोलेसनमा १३ हजार ३३९ जना छन् । तिमध्ये २९० जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३ हजार ७५१ जना रहेका छन् ।

यस्तै झापा, मोरङ, सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत गरि १५ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ८१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (बुधवार) नेपालमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ९९६ जना संक्रमणमुक्त भएका थिए भने २६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?