कोरोना कहरमा चाडवाड : संस्कृतिविद् भन्छन्, ‘यसपटक संस्कृतिलाई निरन्तरता मात्रै दिऔँ ‘

काठमाडौँ – कोरोनाको कहरकाबीच आएको वडादशैँको रमझमले नेपालीहरुलाई छपक्कै छोपेको छ । लामो समयदेखि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लगाईएको बन्दाबन्दी त्यसपछिको निषेधाज्ञाका कारण पनि यसपटक दशैँ तिहार छठजस्ता चाडवाडमा मानिसहरु जोखिमकैबीचमा पनि आनन्दीत भएर परिवारसँगै रमाउन चाहन्छन् । माहोल दशैँमय भएका बेला दशैँ भनेको के हो यसको शुरुवात कसरी भयो दशैँका सांस्कृतिक महत्त्वहरु के कस्ता छन् भनेर बुझ्नका निमित्त वाल्मिकी विद्या पीठका प्राचार्य प्रा. डा. गणेश घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

दशैँ के हो ? कसरी शुरु भयो ? यसका सांस्कृतिक विशेषताहरु के के छन्?
दशैँलाई नेपालीहरुकै सबैभन्दा महान् चाडका रुपमा मनाइन्छ । यसको शुरुवात कहिले भयो भन्ने लिखित प्रमाण नभएपनि किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइदै आएको विश्वास छ ।
दशैँलाई लिएर दुई प्रकारका विश्वास छन् । एउटा नवदुर्गा भवानीसँग सम्बन्धित र अर्को भगवान् रामले रावणमाथि हासिल गरेको जीतसँग ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको गरी घटस्थापनाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रुपको पूजा आराधना गरिन्छ ।

नवदुर्गा भवानीले राक्षशहरुको संहार गरेर असत्यमाथि जीत हासिल गरेको हुनाले दशैँमा शक्तिको आराधना गर्ने शास्त्रीय नियम छ । अर्को भनेको, यही दिन भगवान् रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजय दशमीका रुपमा मनाइएको हो ।

सांस्कृतिक महत्व एकातिर छँदैछ, यसका अतिरिक्त हाम्रा ५ कर्मे्न्द्रिय र ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरुमाथि विजय प्राप्त गरेर जीवनलाई सत् मार्गतिर लैजाने सकारात्मक उर्जा प्रदान गर्ने भएकाले दशैँलाई भव्य रुपमा मनाइँदै आएको हो । आफूभन्दा ठूला व्यक्ति, मान्यजनबाट टिका थापेर, उहाँहरुको आर्शीवाद ग्रहण गरेर सुकर्ममा लाग्ने एकप्रकारको अभिलाषा हामीमा रहेको छ । महत्व एकातिर छ भने पौराणिक धर्मिक महत्व अर्कोतिर रहेको छ ।

दशैँको समयमा मौसम स्वच्छ हुने, हिलोमैलो नहुने आकाश पनि स्वच्छ, सुन्दर हुने हुँदा वातावरणीय हिसाबले पनि यसलाई राम्रो मानिएको छ । सामाजिक, धार्मिक, सांस्कृतिक विविधता सम्पूर्ण दृष्टिकोणबाट सबैमा आफ्नो उत्कृष्ट पहिचान रहेको छ ।

पहिला भदौ लाग्नासाथ आकाशमा रङ्गीचङ्गी चङ्गाहरु देखिन्थे, चौरमा पिङ खेल्नेको घुईँचो लाग्थ्यो । आजभोलि यस्ता दृश्य निकै कम देखिन्छन् । यस्तो किन ? 

अहिले मनिसहरु धेरै व्यस्त भए । यति व्यस्त कि उनीहरुले आफ्ना माता पितालाई समय दिन, भेट गर्न पनि गाह्रो भइसक्यो । यस्तो अवस्थामा पिङ हाल्ने, चङ्गा उडाउने, साथीसँङ्गी मिलेर गाउँघरमाघुम्ने त धेरै टाढाको कुरा हो ।

हाम्रो पूर्वजले उपहारस्वरुप दिएका धारणा, संस्कृति उनीहरु बुझ्न चाहँदैनन् ।

आजको पुस्ता प्राविधिक दृष्टिकोणले सम्पन्न छ । उनीहरुलाई प्रविधिले सम्पूर्ण कुरा सिकाएको छ । तर, सांस्कृतिक दृष्टिकोणबाट हेर्ने हो भने सबैभन्दा कमजोर पुस्ता आजकै छ ।

हाम्रो पुस्ता संस्कृतिक पक्षमा अलि जानकार थियो तर, पछिल्लो पुस्ता मनोरञ्जन, प्रविधि, विकास र वैज्ञानिक उन्नतितर्फ बढी अग्रसर भयो । यही कारणले सांस्कृतिक महत्वका विषयहरु दिन प्रतिदिन कमजोर बन्दै गइरहेका छन् ।

उनीहरुले संस्कृति के हो मादल र डम्फु कसरी बजाउने बालन र मारुनी कसरी नाच्ने चाडपर्वको सांस्कृतिक मान्यता के कस्ता छन् यी यावत् कुराहरु बुझेकै छैनन् ।

आजको पुस्ताले यी सब कुरा नजान्नुमा, नबुझ्नुमा दोष कसको ? पहिलाको पुस्ताले बुझाउन नजानेको हो या अहिलेको पुस्ताले बुझ्न नचाहेको ?
आजको पुस्ता प्रविधिमा अगाडि बढ्न चाहन्छ । त्यसमाथि आजको शिक्षा व्यवसायिक छ तर, नौतिक रुपमा शून्य । हामीले आफ्ना छोराछोरीलाई द्रुतगामी तरिकाले प्रगति गर्न सिकायौँ । तर संस्कृति सम्बन्धि ज्ञान दिन सकेनौँ ।
यता छोराछोरी पनि मोबाइल, ल्यापटपमा व्यस्त हुन्छन् तर मान्यगुन्य, आमाबुबालाई धर्म, परम्परा, संस्कृतिका बारेमा सोध्दैनन् । चासो राख्दैनन् ।
काठमाडौँमा नेवारी समुदायको वर्चस्व छ । यहाँको परिवेशलाई नियाल्ने हो भने, साना देखि युवा, बुढापाका सबैलाई आफ्नो संस्कार संस्कृतिका बारेमा अरु जात, समुदायका व्यक्तिलाई भन्दा बढी ज्ञान छ । आफ्ना मौलिक वाद्यवादन बजाउन, नृत्य नाँच्न, खानाका परिकारका बारेमा, चाडपर्वका बारेमा धेरै जानकारी छ । यसको एउटै कारण भनेको अघिल्ला पुस्ताहरुले सिकाए, पछिल्ला पुस्ताहरुले सिक्न चाहे । तर, सबैतिर यस्तै परिवेश छैन ।
यसमा दुवै पुस्ताको बराबर दोष छ ।

समयसँगै दशैँ खानपान, मोजमस्ती, रमाइलोमा मात्र सिमित हुन थालेको छ । मोडर्न हुने क्रममा हाम्रो मौलिकता हराउँदै गएको हो  ?
संसार परिवर्तनशील छ । आधुनिकतालाई स्वीकार गर्नु एउटा पाटो हो भने त्यही आधुनिकतालाई अंकमाल गर्दा आफ्ना मूल्य परम्परालाई जोगाउनु अर्को ।

त्यसको ठ्याक्कै विपरित भइरहेको छ । दशैँमा भ्याएसम्म विभिन्न क्षेत्रमा लाग्ने खर्च छुट्याइन्छ, रमाइलो गर्ने तौरतारिकाहरुका बारेमा योजना बनाइन्छ । तर, भगवतीको आराधना गरी मनमा भएका अन्तरकलह, रिसराग हटाएर सबैको सुख र हित चाहने भावनालाई बेवास्ता गरेर समाज अगाडि बढिरहेको छ । मोडर्न हुनुपर्छ तर, मौलिकता नै भुसुक्क बिर्सेर होइन ।

दशैँमा बली दिने विषयमा मत विभाजित छ । एक पक्ष भन्छ बली प्रथा हाम्रो संस्कृति हो, यसलाई निरन्तरता दिनुपर्छ । अर्को भन्छ, भगवानले हिंसा चाहँदैनन् । संस्कृतिविद् को नजरले यसलाई कसरी मूल्याङ्कन गर्छ ? 

यो परापूर्वकाल देखि चल्दै आएको रीत हो, परापूर्वकाल देखि चल्दै आएको यो परम्परालाई नामेट पार्ने कुरा हुँदैन ।
नेपालमा विभिन्न उपासनामा आवद्ध मानिसहरु रहेका छन् शाक्तहरुले भगवतीको उपसना गर्छन्, बली दिन्छन् । वैष्णवहरुले विष्णुको उपसना गर्छन्, शैवहरुले शिवको उपासना गर्दछन् । शाक्तहरु शक्तिको उपासक भएकाले भगवतीलाई नै मान्ने गर्दछन् ।
धर्मपुराणमा ब्राह्मणले बाहेक अरुले भगवती शक्तिको उपासना गर्न पाउने कुरा उल्लेख गरिएको छ । तान्त्रिक पक्षबाट हेर्ने हो भने भगवतीलाई शक्तिको रुप मानेको कारणले शक्ति सधैँ रगत चाहन्छ भन्ने कुरा छ ।

जैविक अधिकारको दृष्टिकोणबाट हेर्ने हो भने, यो गलत हो । खसी, बोका, पंक्षी हरेक जीवलाई बाँच्ने अधिकार छ । तर देवी भगवतीको उपासनामा बली दिएर त्यही प्रसाद ग्रहण गर्ने चलन प्राचीनकाल देखि चल्दै आएको हो ।
त्यसैले, यसलाई कुन दृष्टिकोणबाट विश्लेषण गर्ने हो, आत्मसाथ गर्ने हो त्यसमा छुट छ । संस्कृतिविद्ले यसलाई बीचधारबाट मूल्याङ्कन गर्नुपर्छ ।

तपाईले दशैँलाई आजसम्म कसरी मनाउँदै आउनुभएको छ ? 

जागिरे जीवन भएकाले दशैँ मनाउन निश्चित समय छुट्याइएको हुन्छ । नौरथाभरि शुद्ध रहेर, पवित्र मनोभावले हरेक दिन नौ देवीको पूजा आराधना गर्छु । दशमीमा घर जान्छु । आमाबुबाको हातबाट टिका आशीर्वाद ग्रहण गर्छु । दशैँलाई विशुद्ध पर्वका रुपमा मनाउँछु । मनोरञ्जनको रुपमा, रमाइलो गर्ने बहानाको रुपमा मात्रै मैले आज सम्म मानेको छैन । तर कसैले मनोरञ्जनको रुपमा मान्छ भने त्यसमा म बाधक पनि बन्दिन ।
पुनः अद्यावधिक गरिएको

यसपटक परिस्थिती अलि भिन्नै छ । दशै र नजिकिएका चाडवाड कसरी मनाउने ?
यो पटक परिस्थिती जटिल छ । चाडवाड र संस्कृतिलाई सुरक्षा मापदण्ड अपनाएर मान्नुपर्छ । स्वास्थ्य मन्त्रालयले बारम्बार हजुरबुवा हजुरआमालाई कोरोना कोसेली लैजानुहोला नी ! भनेर पनि सचेत गराईरहेको छ । त्यसैले संस्कृतिलाई निरन्तरता दिने हिसाबले मात्रै यो पटकको चाडवाड मनाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?